Logo

प्रमुख समाचार

मधेश प्रदेश : प्रतिनिधिसभातर्फ एमाले अग्रस्थानमा



जनकपुरधाम । मधेश प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये २२ स्थानको नतिजा सार्वजनिक भएको छ । अब प्रदेशका विभिन्न जिल्लाका १० प्रतिनिधिसभा निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी छ ।

निर्वाचन आयोगले शुक्रबार साँझ ५ः३० बजेसम्म सार्वजनिक गरेको परिणामअनुसार सबैभन्दा बढी नेकपा (एमाले) ले ६ स्थानमा जितेको छ । यसैगरी नेपाली कांग्रेसले पाँच, जनता समाजवादी पार्टी (जसपा) ले चार, लोसपाले दुई, एकीकृत समाजवादीले एक, जनमत पार्टीले एक र स्वतन्त्रले तीन स्थानमा जित निकालेको छ ।

एमालेका उम्मेदवार छ स्थानमा निर्वाचित भएका छन् । सिरहा–१ मा रामशङ्कर यादव, धनुषा–३ मा जुली महतो (महासेठ), सर्लाही–३ मा हरिप्रसाद उप्रेती, बारा–१ मा अच्युतप्रसाद मैनाली, पर्सा–३ मा राजकुमार गुप्ता र सिरहा–३ मा लिलानाथ श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सप्तरी–३ मा दिनेशकुमार यादव, धनुषा–२ मा रामकृष्ण यादव, रौतहट–४ मा देवप्रसाद तिमलसेना, पर्सा–२ मा अजयकुमार चौरसिया र पर्सा–४ मा रमेश रिजाल निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार सप्तरी–४, धनुषा–४ र महोत्तरी–४ मा अगाडि छन् ।

जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार सप्तरी–१ मा नवलकिशोर साह, सिरहा–४ मा डा वीरेन्द्रप्रसाद महतो, सिरहा–४ मा वीरेन्द्रप्रसाद महतो र पर्सा–१ मा प्रदीप यादव निर्वाचित भएका छन् । सिरहा–२ र धनुषा–१ मा जसपा उम्मेदवार अगाडि छन् ।

नेकपा(माओवादी केन्द्र)का उम्मेदवार महोत्तरी–१, सर्लाही–२ र बारा–२ मा गरी तीन स्थानमा अगाडि छन् । लोकतान्त्रिक समाजवादीका उम्मेदवार महोत्तरी–२ मा शरदसिंह भण्डारी र सर्लाही–१ मा रामप्रकाश चौधरी निर्वाचित भएका छन् । महोत्तरी–३ लोसपा अध्यक्ष महन्थ ठाकुर अगाडि छन् ।

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल रौतहट–१ बाट विजयी भएका छन् । बारा–४ मा कृष्णकुमार श्रेष्ठ अगाडि छन् । जनमत पार्टीका अध्यक्ष डा सिके राउत सप्तरी–२ बाट निर्वाचित भएका छन् ।

त्यसैगरी स्वतन्त्र उम्मेदवारमध्ये सर्लाही–४ मा अमरेशकुमार सिंह, रौतहट–२ मा किरणकुमार साह र रौतहट–३ मा प्रभु साह विजयी भएका छन् । निर्वाचन आयोगको तथ्याङ्कअनुसार मधेस प्रदेशका आठ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि एक हजार पाँच सय ९८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिनिधिसभातर्फको ३२ सिटका लागि विभिन्न दलका दुई सय ९३ र स्वतन्त्र दुई ९७ गरी पाँच ९० उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रासस

प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार  ७ : ५६ बजे