आम निर्वाचन २०७९ परिणाम आउन अझै केही दिन पर्खिनु पर्ने छ । अहिलेसम्मको मत परिणामले निश्चित भइसकेको छ, कुनै एक दलको स्पष्ट बहुमत पुग्ने छैन । बहुमत पुर्याएर सरकार बनाउन दुई वा सो भन्दा बढी दल मिलेर जानु पर्ने छ । अब यस अघिजस्तै जटिल जोड घटाउको खेल देखिने निश्चित प्राय नै छ । स्वच्छ, पारदर्शी खेल हुने सम्भावनामा स्वाभाविक शक-आशङ्का छन् । यस पटक नयाँ दल र अनुहारको इन्द्रेणी रङ्ग पनि संसद्मा पुगेका छन् । ठूला दल केही प्रतिसतले खुम्चिएका छन्, नयाँ दलले प्रवेश पाएका छन् । नेपाली संसद पहिलो पटक रोचक हुँदैछ ।
यसअघि भएका सङ्ख्या जोड घटाउका अभ्यास स्वच्छ भएको थिएन । कतिपय जोड घटाउमा भएको राजनैतिक दुर्गन्ध अहिलेसम्म पनि हटेको छैन । जसरी भए पनि कुर्सी जोगाउने वा कुर्सी पाउने मात्र खेल दोहोरियो भने यस पटक पनि त्यो सम्भावना कायमै छ । तर, पहिलो पटक काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा संसद् आइपुगेका छन् । संस्कार सिकेर हुर्किएका र सिकाउँदै आएका उनले संसद्मा पनि संस्कारी व्यवहार नै अभ्यास गर्लान्, भन्ने आशा गर्न सकिन्छ । त्यसो त स्वतन्त्र दलका सभापति रवि लामिछाने टेलिभिजनमा हुँदा पटक पटक गलत राजनैतिक अभ्यासमा चर्को स्वरमा कराएका थिए । उनी आफै अब त्यही ठाउँमा छन्, उनलाई नैतिक दबाब पर्ने छ । मधेसबाट वर्षौँको जलुवा हटाएर सिके राउतको पार्टी पहिलो पटक संसद्मा पुगेको छ । उनको पार्टीलाई मलजल गर्न र उनी आफैलाई स्थापित गर्न पनि राजनैतिक संस्कार विकास गर्न जरुरी छ ।
हुनैलाई चाहिँ कि गर्धन कि मैदानको अवस्था देखिन्छ । तर, पटक–पटक भएका अस्वच्छ राजनैतिक अभ्यासका सिकार भइसकेका पुराना राजनेता छन् । उनीहरूका अगाडी जति नै नयाँ वा उत्साह भएका नेता आए पनि पुरानै भुलभुलैयाका सिकार हुन्नन् भन्ने विश्वास गरिहाल्न सकिन्न । उनै दलहरूले सबैभन्दा विश्वास र सफलताका साथ सम्पन्न गर्यौ भनेको संविधानको जगमा टेकेर यस पटक उम्मेदवार उठाएनन् । यसपालि संसद्मा कानुनले तोके जति महिला आउने छैनन् । यसमा उम्मेदवार छनौट, राजनैतिक गठबन्धन र नयाँ दल प्रतिको आकर्षण सबैले काम गरे । आफैले बनाएको जगमा उभिएर आफ्नै अपमान गर्न सक्ने दलसँग धेरै अपेक्षा गर्न सकिन्न ।
यस पटक पनि आफूलाई अब्बल साबित गर्न नसके अर्को पटक धक्का खाने भय स्थापित भएको अनुमान गर्न सकिन्छ । त्यसै कारण नयाँ दलले त गर्ने नै भए, पुराना दलमा देखिएका नयाँ अनुहारलाई अघि सारेर संस्कार विकास गर्न सके फुक्न नसकेको गाँठो फुक्ने थियो कि !





















प्रतिक्रिया