Logo

प्रमुख समाचार

कांग्रेस संसदीय दलको चुनाव ६ गते, प्रतिस्पर्धामा देउवा, शेखर र गगन



नेपाली कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ । संसदीय दलको निर्वाचन गर्न बनेको तीन सदस्यीय निर्वाचन समितिले बुधबार चुनाव गर्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले संसदीय दलको निर्वाचन गर्न समिति बनाएको थियो । सहमहामन्त्री भिष्मराज आङदेम्बेको संयोजकत्वमा रहेको समितिमा केन्द्रीय सदस्यहरु पुष्पा भुसाल र प्रकाश रसाईली स्नेही सदस्य छन् ।

संसदीय दलको नेताका आकांक्षी धेरै भएकाले अहिले भरसक सहमति गराउने प्रयासमा समिति लागेको छ । तर, सहमतिको सम्भावना देखिएको छैन् । सहमति हुन नसके बुधबार चुनाव गराउने समतिको तयारी छ ।

संसदीय दलमा हालसम्म तीनजनाको आकांक्षा देखिएको छ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा संस्थापन टिमबाट र इतरसमूहबाट नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापा दलको नेता लड्ने तयारीमा छन् ।

संसदीय दल नेताका लागि संस्थापन पक्षबाट शेरबहादुर देउवा एक्ला उम्मेदवार हुन् । उनलाई चुनौती दिने घोषणा धेरै समयअघि नै महामन्त्री गगन थापाले गरेका थिए भने अहिले संस्थापन इतरसमूहको नेतृत्व गरिरहेका डा। शेखर कोइराला पनि अगाडी आएका छन् ।

इतरसमूहबाट कोइराला र महामन्त्री थापाबीच पनि संसदीय दलको को उठ्ने भन्न सहमति भइसकेको छैन् । पार्टीको १४ औं महाधिवेशनमा सभापतिका प्रत्याशी रहेका कोइरालाको प्यानलबाटै थापाले लोकप्रिय मतका साथ महामन्त्री जितेका थिए ।

कोइरालाले पछिल्लो पटक उम्मेदवार दिने मनस्थिति बनाएका छन् । कोइरालालाई उम्मेदवार नबनाउँदा आफ्नो प्रभाव घट्ने र गगनलाई नेता मान्नुपर्ने भन्दै इतरपक्षका केही नेताको साझा उम्मदेवार बनाउने प्रयासमा छन् ।

संस्थापनइतर पक्षबाट एउटै उम्मेदवार बनाउने प्रयत्न जारी राखेका नेताहरुले दुइटा उम्मेदवार बन्दा पार्टीभित्र आफ्नो स्थिति अझै कमजोर हुने भन्दै दुवै नेता एकठाउँमा आउनुपर्नेमा जोड दिइरहेका छन् ।

१४ औं महाधिवेशनमा तटस्थ रहेका नेता रामचन्द्र पौडेलको सहयोग संसदीय दलमा कसलाई हुन्छ भन्ने प्रस्ट भइसकेको छैन । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षमा रहेका एक मात्रै सांसद प्रदीप पौडेल देउवालाई साथ दिने मनस्थितिमा देखिएका छन् ।

८९ सांसद रहेको कांग्रेसमा शेखर र गगन पक्षमा ३२ सांसद छन् । प्रकाशमान सिंह, सिटौला, शशांक र रामचन्द्र पौडेलको पक्षमा केही सांसद भए पनि बहुमत देउवाको पक्षमा छ । यसैले देउवा सहजै संसदीय दलको नेता चुनिने सम्भावना छ ।

संसदीय दलको नेतामा हार्ने निश्चित हुँदा पनि कोइराला र थापाबीच सहमति भएको छैन् । राष्ट्रपतिले संविधानको उपधारा–२ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आव्हान गरीसकेकी छन् ।

प्रकाशित मिति : ४ पुष २०७९, सोमबार १४:४६   :  बजे

966
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।