Logo

प्रमुख समाचार

केपी ओली र प्रचण्डको कुरा मिलेको हो ?



हिजो शुक्रबार नयाँ सांसदहरुले सपथ ग्रहण गरिसकेपछि सरकार गठनको कसरत तिब्र रुपले अघि बढेको छ । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमा अब केहि दिन मात्रै बाँकी रहँदा दलहरु सरकार गठनको गृहकार्यमा तिब्र रुपले लागेका छन् ।

अब प्रधानमन्त्री को बन्छ ? अथवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अघिल्लोपटक प्रधानमन्त्री बनाउन भएको गठनबन्धन अब पनि कायम रहन्छ की रहँदैन भन्ने चासो धेरैमा देखिएको छ ।

गठबन्धन कायम रहँदा पनि देउवा की प्रचण्ड प्रधानमन्त्री भन्ने बिषय पेचिलो बन्दै गएको छ । नेपाली कांग्रेसले आफू सबैभन्दा ठूलो पार्टी भएको भन्दै प्रधानमन्त्रीमा दाबी गरेको छ भने माओवादी केन्द्रले पनि अब आफ्नो पालो रहेको भन्दै प्रचण्डलाई प्रधानमन्त्री बनाउनु पर्ने बताइरहेको छ । देउवा र प्रचण्डको हानाथापले गठबन्धननै भत्कन सक्ने सम्मको सम्भावना पनि देखिएको छ ।

यसैबीच लामो समय देखी तिक्ततापूर्ण सम्बन्धमा रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)को हिमचिम निकै बाक्लिएको छ । लगभग बोलचालै बन्दको अवस्थामा रहेका अ‍ोली र प्रचण्डको हार्दिकता बढ्दै गएपछि राजनीतिमा नयाँ केहि पाक्दै छ भन्ने अनुमान पनि गरिएको छ ।

बुधवार सांसदको जेष्ठ सदस्यको सपथ ग्रहण कार्यक्रममा देखिएको ओली प्रचण्डको सामिप्यता भोली पल्ट पनि कायम रह्यो । बिहिबार प्रतिनिधिसभा सदस्यको शपथपछि चियापानका क्रममा पनि दुई नेता एकै ठाउँमा बसे । एमालेका अध्यक्ष ओली राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना दायाँतिर बसे । प्रधानमन्त्री एवं कांग्रेसका सभापति देउवा बायाँतिर बसे । माओवादी अध्यक्ष प्रचण्डले ओली बसेकै सोफा रोजे ।

ओली कहिले प्रधानमन्त्री देउवासँग गफिए त कहिले प्रचण्डसँग । ओली र प्रचण्डबीच अलि बढी सम्वाद भयो । दुई नेता बेलाबेला मुसुक्क हाँसेको समेत देखिन्थ्यो । बुधबार राष्ट्रपति कार्यालयमा प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर राणाको शपथ पनि यस्तै दृृश्य देखिएको थियो । पूर्व प्रधानमन्त्रीहरुको लहरमा दायाँबाट क्रमशः झलनाथ खनाल, प्रचण्ड र ओली बसे । त्यस क्रममा ओलीले दुबैसँग सम्वाद गरे ।

यस्ता समारोहहरुमा पूर्व प्रधानमन्त्रीहरु एकै ठाउँमा बस्नु र सामान्य सम्वाद हुनु स्वभाविक हो । तर यसलाई अहिलेको राजनीतिक परिस्थितिसँग पनि जोडेर हेर्न सकिने नेताहरु बताउँछन् । ‘सरकार गठनका लागि सबैसँग सम्वाद भइरहेको छ । केपीजीसँग हिजो शितल निवासमा र आज संसदमा कुराकानी भएको तपाईंहरुले देख्नुभएकै छ’, माओवादीका एक पदाधिकारी भन्छन् ।

शपथलगत्तै बसेको पार्टी पदाधिकारी बैठकमा प्रचण्ड स्वयंले कांग्रेससँगै एमालेसँग संवाद भइरहेको बताएका थिए । एमाले नेताहरुले सहकार्यको प्रस्ताव राखेको, तर गठबन्धनमै सहमति जुट्ने सम्भावना रहेको उनको ब्रिफिङ थियो ।

बिहीबार नै एमालेले विशेष पहल गर्ने निर्णय गरेको सुनाउँदै माओवादीका एक पदाधिकारी भन्छन्, ‘ओलीजीले कांग्रेससँग मिलेर हामीलाई पनि फाइदा छैन, तपाईहरुलाई पनि फाइदा छैन भन्नुभएको छ ।’

एमालेका एक पदाधिकारीका अनुसार पार्टी सचिवालयको बैठकमा अध्यक्ष ओलीले गठबन्धन छाडेर आएर प्रचण्डसँग सहकार्य हुनसक्ने संकेत गरेका थिए । कांग्रेस, माओवादी लगायतका सबै दलसँग संवाद भइरहेको भन्दै ओलीले भनेका थिए, ‘सरकार गठनमा हतार गर्नुपर्ने छैन । गठबन्धनमा गडबडी आयो भने कसरी जाने भनेर निर्णय गरौंला । सम्वादलाई चाहिँ तीव्रता दिन जरुरी छ ।’

आफ्नो नेतृत्वमा सरकार गठन गर्न एमाले नेताहरु सकारात्मक देखिएपछि माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति देउवासँग निर्णायक वार्ता गर्ने मुडमा छन् । ‘कांग्रेसले सरकार चलाइसक्यो, अब हामीले नेतृत्व पाउनुपर्छ भन्ने छ’, माओवादीका एक पदाधिकारी भन्छन्, ‘हामी गठबन्धनमा रहने कि नरहने आजै टुंगो लाग्ने सम्भावना छ ।’

पदाधिकारी बैठकलगत्तै प्रचण्डले संसदीय दलको बैठक राखे, सर्वसम्मत संसदीय दलको नेता चुनिए । लगत्तै प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवालाई भेट्न बालुवाटार पुगे । दुई नेताको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु पनि थपिएका छन् ।

कांग्रेससँग माओवादी केन्द्र र एकीकृत समाजवादीको कुरा नमिले एमालेसँग सहकार्यमा प्रचण्डसँगै नेपाल पनि थपिन सक्ने सम्भावना औंल्याए एक नेताले ।

ओलीजीले कुराकानीका क्रममा एकीकृत समाजवादीलाई बल्ल पार्टीका रुपमा स्वीकार गरेको, अनि कुराकानी गर्न खुला रहेको जनाउ दिनुभएको छ’, ती नेताले भने, ‘कुनै पनि बेला आइसब्रेक हुन सक्छ ।’

प्रकाशित मिति : ९ पुष २०७९, शनिबार १४:५२   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।