प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संसदबाट विश्वासको मत लिने समय लिएपछि एमालेभित्र सभामुख कसले पाउने भन्ने बारेमा अनौपचारिक छलफल शुरु भएको छ । एमालेले राष्ट्रपति र सभामुख पाउने भएको छ । जसले गर्दा राष्ट्रपतिमा अलि सिनियर नेता जानुपर्ने भएपछि सभामुखमा भने संसदमा रहेका नेताहरुले आफ्नो भूमिका खोज्न थालेका छन् ।
सभामुखमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माले दाबी गरेका छन् ।दुबै नेताले सभामुखमा आफ्नो इच्छा रहेको कुरा अध्यक्ष केपी शर्मा ओलीसमक्ष पुर्याएका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको गठबन्धन बन्दा प्रतिनिधिसभाको यो ५ वर्षे कार्यकालको सुरुको आधा समय सभामुख पद लिने सहमति भएको छ । पार्टीले नै सभामुख पाउने निश्चित भएपछि नेताहरु आफ्नो पक्षमा निर्णय गर्न नेतृत्वसमक्ष लबिङ गरिरहेका छन् ।
यद्यपि एमालेले अहिलेसम्म कसलाई सभामुख बनाउँदा हुन्छ भनेर केही पनि सूचना चुहाएको छैन । सभामुखका लागि प्रतिनिधि सभाकै सदस्य हुनुपर्ने अनिवार्य नियम भएकाले पनि एमालेको तर्फबाट सभामुख हुँदा एक सिट घाटा लाग्ने अवस्था छ ।
‘अहिलेको अवस्थामा एमालेले सभामुख पाउँदा गुरुङ र विश्वकर्मामध्ये एक जना हुनेछन्’, एमाले निकट स्रोतले भन्यो ।




















प्रतिक्रिया