काठमाडौं । शक्ति केन्द्रको संरक्षणमा पटक–पटक शंकास्पद रुपमा विदेशी मुद्रा नेपाल भित्र्याएका अछाम बन्निगढीका पृथ्वीबहादुर शाह अहिले प्रहरी हिरासतमा छन् । नेपालमा कम्पनी खडा गरेर करोडौं शंकास्पद रकम भित्र्याएका उनलाई शुक्रबार (पौष २२ गते) पक्राउ गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीं)ले अनुसन्धान थालिसकेको छ । अनुसन्धानमा उनीसहित उनका साझेदार र सहयोग पनि छन् ।
पृथ्वीबहादुर शाह विभिन्न शक्ति केन्द्रमा सहज पहुँच राख्ने व्यक्ति हुन्, यो कुरा यसअघि नै पुष्टि भइसकेको छ । उनलाई निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको संरक्षण रहेको थियो । शाहले विदेशबाट भित्र्याएका करोडौं अवैध रकम राष्ट्र बैंकले रोक्का गरेपछि शर्माले हस्तक्षेप गर्दै फुकुवा गर्न निर्देशन दिए भने फुकुवा गर्न गभर्नर महाप्रसाद अधिकारीले नमानेपछि उनलाई बर्खास्तसम्म गरे । त्यसकारण गभर्नर अधिकारी निलम्बित बने । तर सर्वोच्च अदातलले अन्तरिम आदेश जारी गर्दै गभर्नर अधिकारीलाई कामकाजमा फर्काइदियाे ।
अर्थमन्त्री शर्मा र गर्भनर अधिकारीबीच दुरी बढ्दाको शिकार सिंगो मुलुकको र्थतन्त्र बनेको कुरा बिर्सिनु कदापी हुन्न । शर्माकै संरक्षणमा शाहले ६५ करोड बढीको कारोबार गरेका खुलिसकेको छ । जब अर्थमन्त्री शर्मा पदबाट हटे, तब शाह पक्राउ पर्नुले पनि शर्मा र शाहबीचको निकट्ता स्पष्टै देखिन्छ ।
साथसाथै शाहको साँठगाँठ अन्य शक्तिशाली नेता तथा व्यापारीहरुसँग छैन भन्न सकिन्न । हुन त अहिले सीआईबीका हातमा पुगिसकेको विषयमा सीआईबीले आफ्नै तौरतरिका प्रयोग गरेर अनुसन्धान गरिरहेको होला । तर शाहको अन्य व्यक्ति तथा समूहसँगको संलग्ताबारे थाहा पाउन उनको सम्पूर्ण कल हिस्ट्री खोतल्न आवश्यक छ । अवैध विदेशी मुद्राको कारोबारबारे ‘कहाँबाट ? कहिले ? कति समय र खासगरी कोसँग कस्ता कुरा भए ?’ भन्ने सम्पूर्ण प्रश्नको जवाफ यसैबाट पक्कै मिल्ला । यसले अनुसन्धानमा प्रहरीलाई सहयोग पु¥याउनेमा कुनै दुई मत छैन ।
अहिले पृथ्वीबहादुर शाहलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको सीआईबीले यो घटनाका आरोपित शाहलाई पक्कै पनि कम आँक्नुहुन्न । कसैको दबाब र प्रभावमा नगरी सीआईबी अब यो प्रकरणको पर्दाफास गर्न र यसमा प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न सबैलाई कानुनी कठघरामा उभ्याउन लागि पर्नुपर्छ ।
अबका जुनसुकै अपराधिक घटना अनुसन्धानमा प्रहरी नचुक्नु र सही ढंगबाट अनुसन्धानकाे अन्तिम विन्दुमा पुग्नु भनेकाे नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे सफलता पनि हाे । तसर्थ प्रहरीकाे हरेक कामकारबाही अनुसन्धानका ताैरतरिकाबारे गृहमन्त्री लामिछानेकाे निगरानी पनि आवश्यक छ । गृहमन्त्री नियुक्त भएपछि प्रहरी मुख्यलयमै पुगेर सेलाइसकेकाे निर्मला हत्या प्रकरणमा पुन: अनुसन्धान टाेली गठन गरेर न्याय र शान्तिसुरक्षाकाे प्रत्याभूति दिलाउने आशा भने देखाइसकेका छन् । बाँकी कुरा हेर्न बाँकी छ । हेर्दै जाउँला ।
प्रतिक्रिया