Logo

कर्णाली प्रदेश

सातै प्रदेशले पाए मुख्यमन्त्री, कुन प्रदेशमा को ?



काठमाडौं । सातैवटै प्रदेशले नयाँ मुख्यमन्त्री पाएका छन् । गत ४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनको जनादेशअनुसार सबै प्रदेशले बुधबार साँझसम्म मुख्यमन्त्री पाइसकेका हुन् । निर्वाचनपछि बनेको एमाले र माओवादीसहितको गठबन्धनले संघीय र प्रदेश सरकार गठन गरेको हो ।

गठबन्धनको भागबण्डाअनुसार प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा एमाले नेतृत्वमा सरकार गठन भएको छ । बागमती र कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुँदा मधेस प्रदेशमा जसपाले मुख्यमन्त्री पाएको छ ।

प्रदेश १

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्की नियुक्त भएका छन् । केन्द्रमा गठबन्धन भएपछि एमाले र माओवादी केन्द्र दुवैले दाबी गरेका थिए । तर यहाँ एमालेका कार्कीलाई मुख्यमन्त्री बनाउने सहमति भए जसअनुसार पुस २४ गते कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।

एमालेको स्थायी कमिटी सदस्यसमेत रहेका कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्वाचन क्षेत्र झापा ५ (१) बाट लगातार दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०७४ फागुनमा शेरधन राई नेतृत्वको प्रदेश सरकारमा साढे ३ वर्ष आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए ।

प्रदेश १ प्रदेश सभाको सभामुख माओवादी र उपसभामुख एमालेले पाउने सहमति भएको छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ सहित कुल ६० सांसद सत्तापक्षमा छन् ।

मधेस प्रदेश

मधेस प्रदेशको मुख्यमन्त्री जसपाका सरोज यादव बनेका छन् । यसअघि संघीय सरकारमा दुईपटक राज्यमन्त्री र मधेस प्रदेशको सभामुख भइसकेका उनी यस पटक मुख्यमन्त्री बनेका हुन् ।

२०७४ मा बारा निर्वाचन क्षेत्र १ को (२) बाट प्रदेशसभा सदस्यमा तत्कालीन राजपाबाट विजयी भई मधेस प्रदेशका सभामुख बनेका उनी २०७९ को चुनावमा सोही क्षेत्रबाट एमालेको तालमेलमा जसपाको तर्फबाट निर्वाचित भएका थिए । उनले साढे २ वर्षपछि मुख्यमन्त्री जनमत पार्टीलाई हस्तान्तरण गर्नुपर्ने सहमति छ ।

मधेसमा सभामुख एमाले र उपसभामुख जनमत पार्टीले पाउने सहमति भएको छ । १ सय ७ सदस्यीय मधेसमा एमालेका २३, जसपाका १६, जनमतका १३ र माओवादीका ९ सहित सत्तापक्षमा ६१ सांसद पुग्छन् ।

बागमती प्रदेश

बागमतीको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त भएका छन् । बुधबार शपथ लिएका उनले माघ ३ मा प्रदेश सभाबाट विश्वासको मत लिने तयारीसमेत गरेका छन् ।

माओवादी केन्द्रका जम्मकट्टेल यसअघि पनि प्रदेश सरकारमा मन्त्री थिए । उनी २०६४ को संविधानसभामा धादिङ निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । २०७० सालमा सोही निर्वाचन क्षेत्रबाट संविधानसभामा पराजित उनी २०७४ मा भने प्रदेश सभामा उम्मेदवार बने । उनी धादिङ निर्वाचन क्षेत्र नम्बर १ (२) बाट निर्वाचित भएर बागमती प्रदेश सभामा पुगेका हुन् ।

१ सय १० सदस्यीय वाग्मती प्रदेशसभामा एमालेबाट २७, माओवादीबाट २१ र राप्रपाबाट १३ जना सांसद रहेकाले गठबन्धनको पक्षमा सांसद संख्या ६१ पुग्छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनेका छन् । पछिल्लो पाँच वर्ष प्रतिनिधिसभमा सांसद भई काम गरेकाले उनी यसपटक मुख्यमन्त्री बन्नकै लागि प्रदेशसभामा झरेका उनी केन्द्रमा कांग्रेस नेतृत्वको गठबन्धन टुटेसँगै उनको मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

एमाले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख अधिकारीले सोमबार गण्डकी प्रदेशको मुख्यमन्त्रीको नियुक्ति लिएका थिए । यसअघि स्वास्थ्य तथा जनसंख्या र उपप्रधान तथा गृहमन्त्री भई २ पटकसम्म संघीय सरकारको मन्त्री बनेका अधिकारी यसपटक मुख्यमन्त्री बनेका हुन् ।

सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार गण्डकीमा सभामुख माओवादी र उपसभामुख एमालेबाट चुनिनेछन् । गण्डकीमा ६० सदस्यीय प्रदेशसभा छ । गण्डकीमा सत्तापक्षमा एमालेको २२, माओवादीको ८ र राप्रपाको २ गरी ३२ सांसद अधिकारीको पक्षमा छन् ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी बुधबार नियुक्त भएका छन् । एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सहइन्चार्ज रहेका उनी २०७४ सालमा पनि प्रदेशसभामा निर्वाचित भएका थिए । उनी एमाले नेता शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसमेत भएका थिए ।

मुख्यमन्त्री बनेका गिरी एमालेमा उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलनिकट मानिन्छन् । उनी पौडेलको निर्वाचन क्षेत्र रुपन्देही २ को प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए ।

लुम्बिनी प्रदेशमा सभामुख माओवादी र उपसभामुख राप्रपाबाट बन्नेछन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, माओवादीका ९, राप्रपाका ४, जसपाका ३ र जनमतका ३ सहित गठबन्धनको पक्षमा ४८ सांसद छन् ।

कर्णाली प्रदेश

कर्णालीमा माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका छन् । रुकुम पश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट निर्वाचित शर्मा माओवादी उपमहासचिव जनार्दन शर्मा निकट मानिन्छन् ।

माओवादी केन्द्रको पोलिटब्युरो समेत रहेका मुख्यमन्त्री शर्मा २०७४ सालमा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख बनेका थिए । अहिले मुख्यमन्त्री बनेका उनले साढे २ वर्षमा सरकारको नेतृत्व एमालेलाई दिने छन् कर्णालीमा सभामुख एमाले र उपसभामुख माओवादीबाट हुनेछन् ।

कर्णालीको ४० सदस्यीय प्रदेशसभामा माओवादीबाट १३, एमालेबाट १०, राप्रपाबाट १ गरी सत्तापक्षमा २४ प्रदेश सभा सदस्य छन् ।

सुदूरपश्चिम प्रदेश

समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्य बनेकालाई मुख्यमन्त्री पाउने एक मात्र प्रदेश सुदूरपश्चिम हो । एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता राजेन्द्रसिंह रावल बुधबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।

पार्टीको पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज समेत रहेका रावल एमालेको सुदूरपश्चिम प्रदेश सभा समानुपातिकतर्फ खसआर्य कलष्टर अन्तर्गत पुरुषहरूमा पहिलो नम्बरमा सिफारिस थिए । मुख्यमन्त्री बनेका रावल लेखक तथा साहित्यकार पनि हुन् ।

सुदूरपश्चिममा सभामुख माओवादी र उपसभामुख नागरिक उन्मुक्ति पार्टीबाट चुन्ने सहमति भएको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीबाट ११, एमालेबाट १०, नागरिक उन्मुक्ति पार्टीबाट ७, जनमतबाट ४ र राप्रपाबाट १ गरी ३३ प्रदेश सभा सदस्य सत्तापक्षमा छन् ।

प्रकाशित मिति : २७ पुष २०७९, बुधबार २१:०२   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।