Logo

प्रमुख समाचार

भट्टराईको सर्तमा नाम फेर्दै माओवादी केन्द्र



नेकपा (माओवादी केन्द्र) र बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबीच एकीकरण गर्ने क्रममा नेकपा माओवादी केन्द्रको नाम नै परिवर्तन हुने भएको छ । माओवादी पार्टी छाडेको सात वर्षपछि पार्टीमा फर्कन लागेका बाबुराम भट्टराईले सर्त राखेर फर्कने भनेपछि नाम परिवर्तन गर्न लागिएको हो ।

‘माओवादी केन्द्रले नाम परिवर्तन गर्न र अध्यक्ष पुष्पकमल दाहालपछिको दोस्रो वरीयता दिन सहमत भइसकेको छ, यसलाई दुई पार्टीको एकीकरणको प्रक्रियामा राखेर टुङयाइनेछ,’ माओवादी केन्द्रका एक नेताले भने । ती नेताका अनुसार अध्यक्ष दाहालले पार्टीको नामको अगाडि नेकपा राख्नुपर्ने अडान लिएपछि पार्टीको नाम नेकपा समाजवादी राख्ने सहमति भएको छ । ‘एकतापछि पार्टीको नाम नेकपा समाजवादी हुनेछ,’ स्रोतले भन्यो ।

माओवादी केन्द्रले वामपन्थीलाई एक ठाउँमा ल्याउनेगरी कार्यदल बनाएको छ। उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा महासचिव देव गुरुङ, उपमहासचिवहरू जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत सदस्य रहेको कार्यदल बनेको हो । सो कार्यदलले भट्टराईले नेतृत्व गरेको समाजवादी पार्टीसँग कुराकानी गरेर अघि बढ्नेछ ।

कार्यदलमार्फत सबै विषय टुंङयाएपछि दुई पार्टीबीच एकता हुनेछ । एकतापछि दाहाल र भट्टराई दुवै एउटै पार्टीमा रहनेछन् । भट्टराई सात वर्षअघि माओवादीबाट राजीनामा दिएर नयाँ शक्ति पार्टी बनाई अलग्गिएका थिए ।

माओवादीसँग छुट्टिँदा भट्टराईले माओवादी लडाकु व्यवस्थापनमा अध्यक्ष पुष्पकमल दाहाल तथा अन्य नेतृत्व तहका नेताले अर्बौं रूपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका थिए। माओवादी छाडेको ७ वर्षपछि ती सबै आरोप बिर्संदै भट्टराई माओवादीमै फर्कने भएका हुन् ।

माओवादी केन्द्रको शनिबार बसेको सचिवालय बैठकले ‘फास्ट ट्र्याक’ विधिबाट दुई पार्टी एकता गर्ने र प्रचण्डपछिको दोस्रो वरीयतामा रहेर भट्टराईलाई पार्टी काममा लगाउने गरी प्रक्रिया अघि बढाइसकेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार ०९:०२   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।