Logo

स्वास्थ्य

अस्पतालले शैया लुकाउँदा गम्भीर संक्रमित पनि आइसोलेसनमै बस्न बाध्य



अस्पतालले कोरोना भाइरस संक्रमितलाई शैया दिन आनाकानी गर्दै खाली शैयासमेत लुकाउन थालेपछि गम्भीर अवस्थामा पुगेका पनि होम आइसोलेसनमै बस्न बाध्य भइरहेका छन् । निजी तथा सरकारी अस्पतालको अमानवीय व्यवहारका कारण गम्भीर बिरामी निकै सकसमा पर्न थालेका हुन् ।

अस्पतालमा शैया हुँदा हुँदै पनि अस्पतालले संक्रमितलाई भर्ना गर्न नमान्दा होम आइसोलेसनमा बस्ने गम्भीर संक्रमितको संख्या बढ्दै गएको हो । गम्भीर प्रकृतिका संक्रमितसमेत अस्पतालमा बेड नपाएपछि ज्यानै जोखिममा हालेर होम आइसोलेसनमा बस्न बाध्य भएका हुन् । अस्पतालले आईसीयू र भेन्टिलेटर भए पनि लुकाउँदा समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रभावकारी अनुगमन गर्न सकेको छैन ।

दीर्घरोगी र ज्येष्ठ नागरिकहरू जोखिममा रहेका छन् । संक्रमण बढ्दै गएर दीर्घरोगीलाई जटिल समस्या हुँदा समेत अस्पतालले शैया दिन आनाकानी गर्दै आएका छन् । उच्च रक्तचापका बिरामीमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुने भन्दै स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले सावधानी अपनाउन आग्रह गरे ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ३८ हजार ७ सय ३७ जना सक्रिय कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै होम आइसोलेसनमा छन् । शनिबार देशभर २५ हजार ४ सय ३८ जना संक्रमित होम आइसोलेसनमा बस्दै आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । याे खबर राजधानी दैनिकमा छ ।

प्रकाशित मिति : कार्तिक २, २०७७ आईतबार  ८ : २२ बजे