Logo

मधेश प्रदेश

राष्ट्रिय शोक बिदाका कारण आजका लागि तय कार्यक्रम भोलि हुने




काठमाडौं । मधेस प्रदेशसभा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम भोलि (मंगलबार)का लागि तय गरिएको छ ।

आइतबार कास्कीको पोखरामा भएको विमान दुर्घटनाका कारण संघीय सरकारले राष्ट्रिय शोक बिदा दिएकाले आजका लागि तोकिएका कार्यक्रम स्थगित गरी भोलिका लागि तय गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए।

यसअघि आज दिउँसो १ बजेका लागि तय भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नाम निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । प्रदेशसभा सचिवालय सचिव यादवले प्रदेशसभा अध्यक्ष गोविन्दबहादुर न्यौपाने र मुख्यमन्त्री यादवको समन्वयपछि भोली मङ्गलबार दिउँसो १ बजेका लागि बैठक सारिएको बताए ।

मुख्यमन्त्री सरोजकुमार यादवले पनि विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि र परिवारजनमा गहिरो दुःख व्यक्त गर्दै देश शोकमा डुबेको र राष्ट्रिय शोक बिदा दिइएकाले आफूले भोलिको बैठकमा विश्वासको मत लिने जानकारी दिएका छन्।

प्रकाशित मिति : माघ २, २०७९ सोमबार  ११ : ५२ बजे