Logo

प्रमुख समाचार

सत्ता साझेदार दलको बैठक, मन्त्रालय बाँडफाँट र मन्त्रीको नाम बुझाइने



सरकारलाई पूर्णता दिनका लागि मन्त्रालय बाँडफाँटका साथै पावर शेयरिङको निर्णय गर्न बसेको सत्ता साझेदार दलहरुको शीर्ष बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चार घण्टाभन्दा लामो समयदेखि बसिरहेको छ ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच करिब ५ घण्टा छलफल भएको थियो । सत्ता साझेदार दलहरुबीच शक्ति बाँडफाँटको टुंगो लगाउनका लागि भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पाँच घण्टा लामो छलफलपछि पौडेलले भने, ‘संयन्त्रका केही कार्यसूचीहरु बाँकी छन् । ती कार्यसूचीमा काम भइरहेको छ ।’ पौडेलले यो सरकार सत्ता साझेदार दलकै सहमतिअनुसार अघि बढ्ने बताए । बैठकपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिने पार्टीहरुको बैठक भोली बस्ने जानकारी दिएका थिए ।

बैठकले १७ मन्त्रालयको बाँडफाँट गर्ने जनाइएको छ । स्रोतका अनुसार दलहरुले पाउने मन्त्रालयको टुंगो लगाएर आजै नाम बुझाउने तयारी छ । ‘बैठक बैठकले मन्त्रालय भागबण्डाबारे निर्णय गर्नेछ,’ स्रोतले भन्यो, ‘त्यसपछि दलहरुले मन्त्रीहरुको नाम प्रधानमन्त्रीलाई बुझाउने छन् ।’

१० पुसमा ३ स्वतन्त्रसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ११ पुसमा एमालेबाट ४, माओवादीबाट २, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट १ र जनमत पार्टीबाट १ जनालाई लिएर ८ सदस्य मन्त्रिमण्डल बनाएका थिए । बाँकी १७ वटा मन्त्रालयको बाँडफाँटका विषयमा एमाले अध्यक्ष ओलीसँग मोडालिटी बनाइएको हो ।

सरकार सञ्चालन सघाउन एमाले अध्यक्ष ओलीको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएको छ । सो संयन्त्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सदस्य रहेका छन् ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार २१:३३   :  बजे

312
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।