सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागबन्डाको टुङ्गो लगाएसँगै आज मंगलबार नयाँ मन्त्रीहरु नियुक्त हुने भएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका अनुसार आज दिउँसो १ बजे नयाँ मन्त्रीहरु सपथ ग्रहण कार्यक्रम राखिएको छ ।
उनका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको संयन्त्रको बैठकले कुन पार्टीलाई कुन मन्त्रालय भन्ने विषय टुङ्गो लगाइसकेको छ । त्यस अघि सोमबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा झन्डै पाँच घण्टा लामो वार्ता भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाललाई गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिईन् । विश्वासको मत पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भएको हो ।
हालसम्मको तयारी अनुसार नेकपा एमालेले अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका मन्त्रालय तथा १ राज्य मन्त्री पाउने सहमति भएको हो । माओवादीले भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला मन्त्रालय तथा १ राज्य मन्त्री पाउने सहमति भएको छ ।
राप्रपाले ऊर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रलाय तथा १ राज्यमन्त्री पाउने सहमति भएको छ भने रास्वपाले गृह, शिक्षा र श्रम मन्त्रालय तथा १ राज्यमन्त्री पाउने सहमति भएको छ । जनमत पार्टीले यद्योग वााणिज्य तथा आपूर्ति मन्त्रालय पाउने छ ।
जसपा र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउन छलफल भईरहेकोले यदि ति पार्टी सरकारमा आएमा मन्त्रालय बाँडफाँड केहि तलमाथि हुन सक्ने छ। जसपालाई २ मन्त्रालय प्रस्ताव गरिएपछि जसपाले त्यसलाई अस्विकार गरेकोले सोमबार यसबारे निर्णय हुन नसकेको बताईएको छ ।




















प्रतिक्रिया