Logo

प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने मिति तय, विदेश सचिव क्वात्रा काठमाडौं आउँदै



प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारी थालिएको छ । यसअघि नै प्रधानमन्त्री दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने भनेर सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । दाहालको पहिलो विदेश भ्रमण भारत नै हुने करिब करिब निश्चित् भएको छ। यसको लागि भारतीय सरकारी संयन्त्र सक्रिय भएको छ ।

प्रधानमन्त्री दाहाललाई भ्रमणको निम्तो दिन भारतीय विदेशमन्त्री एस. जयशंकर नै नेपाल आउने तयारी थियो । तर, विशेष परिस्थितिका कारण उनी आउन नभ्याउने भएका छन् । अब विदेश सचिव विनयमोहन क्वात्रा छिट्टै नेपाल आउने भएका छन् । उनले प्रधानमन्त्री दाहाललाई भेटेर भ्रमणको निम्तो दिने भएका छन् ।

विशेष सूत्रका अनुसार प्रधानमन्त्री दाहालले फेब्रुअरीको पहिलो साता नै भारत भ्रमण गर्नेगरि तयारी अघि बढेको छ । विदेश सचिव क्वात्राले काठमाडौं बसाईको क्रममा परराष्ट्रमन्त्री डा। विमला पौड्याल राईसँग भेट्ने पनि कार्यक्रम रहेको छ । त्यसपछि उनले प्रधानमन्त्री दाहालसँग भेटवार्ताको कार्यक्रम छ ।

उनले प्रचण्डलाई भेटेरै भारत भ्रमणको निम्तो दिनेछन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय च्यानलमा अन्वर्तार्ता दिने क्रममा प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने बताउनु र अहिले भारतीय पक्षले तयारी थाल्नुले पनि यो पुष्टि हुने भएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १४:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।