Logo

टिप्पणी

माओवादीको माया लाग्यो क्या !



नेपाली कांग्रेसका नेता एवं सांसद शंकर भण्डारीले विपक्षी गठबन्धनमा कांग्रेसले राष्ट्रपति पाउँदा रामचन्द्र पौडेल नै उम्मेदवार हुने बताएका छन् ।

‘सभामुखमा जस्तै राष्ट्रपतिमा हाम्रो उम्मेदवारी हुन्छ । विपक्षी गठबन्धनमा कांग्रेसले राष्ट्रपति पाउँदा उम्मेदवार रामचन्द्र पौडेल नै हो । अहिले नै भन्दिन्छु, राष्ट्रपतिको मत परिणाम हाम्रो पक्षमा आउँछ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भण्डारीले भने ।

सत्तापक्षको बहुमत भएका कारण सभामुखमा कांग्रेसको उम्मेदवार पराजित भएको उनले बताए । सभामुख देवराज घिमिरेले आफ्नो पदीय मर्यादा राख्नुपर्ने उनले औंल्याए ।

सरकारलाई विश्वासको मत दिए पनि कांग्रेसको त कन्तबिजोग भयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा भण्डारीले भने, ‘कांग्रेसलाई माओवादीको माया लाग्यो क्या । स्थानीय तहको निर्वाचनदेखि सँगै लिएर हिँड्यौं, भोट हालेर जितायौं । त्यसैले पनि विश्वास र भरोसा गरेका हौं । भोलि हाम्रो अस्तित्व रक्षा गरिदिनुपर्यो भनेर आउने ठाउँ राखिदिएको हो ।’

सरकारलाई नियन्त्रणमा राख्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको एकल मनसाय पूरा नहुने पनि भण्डारीले औंल्याए । उनले भने, ‘हिजो हाम्रा महामन्त्री विश्वप्रकाश शर्माजीले ठीकै त भन्नुभयो । आफू प्रधानमन्त्री हुँदा उच्चस्तरीय संयन्त्रलाई संविधानले चिन्दैन भन्ने अनि आज अरु प्रधानमन्त्री हुँदा उच्चस्तरीय संयन्त्रको संयोजक बन्ने ? सरकारलाई एकल नियन्त्रणमा राख्ने मनसाय पूरा हुँदैन । हामीले विश्वासको मत नदिएको भए यो सरकारले अहिलेको आकार पनि पाउँदैनथ्यो । तैपनि महत्त्वपूर्ण मन्त्रालय प्रधानमन्त्रीसँग एउटा पनि छैन ।’

गृहमन्त्री रवि लामिछानेको खुट्टी हेरेर चाल पाएको भन्दै उनले व्यंग्य पनि गरे । भण्डारीले भने, ‘यो अनैतिक र असान्दर्भिक गठबन्धन हो । श्रीमतीलाई अँगालो हाल्दा, झन्डा सुमसुम्याउँदा, मातहतको कर्मचारी फोन गर्दा राष्ट्रिय समाचार बनाउने के खालको कायदा हो ? रविजीको खुट्टी हेरेर चाल पाइन्छ ।

हिजो त घाँटी सुकाई सुकाई नसा फुलाई फुलाई बोल्नुहुन्थ्यो होइन रविजी ? आफ्नो मुद्दाको किनारा लगाएपछि मन्त्री भएको भए हुँदैनथ्यो ? उहाँको नैतिकताको स्तर खस्किसक्यो ।’

प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार  ९ : ५८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।