Logo

बागमती प्रदेश

बागमती प्रदेश सरकारले आज पूर्णता पाउँदै, कुन दलबाट को–को बन्दैछन् मन्त्री ?



हेटौंडा । बागमती प्रदेश सरकारले आज (बुधबार) पूर्णता पाउँदै छ । सत्ता गठबन्धन दलहरुले मन्त्रालयको भागबन्डा मिलाएर मन्त्री बन्नेहरुको टुंगो पनि लगाइसकेका छन् ।

प्रदेशमा एमाले र माओवादीले ४/४ तथा राप्रपाले ३ मन्त्रालय पाउने सहमति भएअनुसार दलहरुले आ–आफ्ना मन्त्रीको नाम टुंगो लगाएका हुन् ।

नेकपा एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ्य र काठमाडौंका केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री बन्ने भएका छन् । एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री भैसकेका छन् ।

यसैगरी माओवादीबाट सिन्धुलीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून, सिन्धुपाल्चोकका युवराज दुलाल भौतिक पूर्वाधार विकास र मकवानपुरका कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने भएका छन् । माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल प्रदेश मुख्यमन्त्री छन् ।

राप्रपाबाट डम्बरबहादुर तामाङ उद्योग, पर्यटन र सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री बन्ने भएका छन् । राप्रपा संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री बन्ने भएका छन् । उनले यसअघि विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका थिए ।

नवनियुक्त मन्त्रीहरूको सपथ दिउँसो २ बजेलाई राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार १३:०६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।