Logo

प्रमुख समाचार

रवि लामिछाने गठबन्धनको आवश्यकता हो : सूर्य थापा



नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले रवि लामिछाने गठबन्धनको आवश्यकता भएको औंल्याउँदै बुद्धिमत्तापूर्ण निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

‘अब हामीसँग गठबन्धन गर्दाको समझदारी अनुसार अघि बढ्नुको विकल्प छैन । संसदको सिट र मतका आधारमा रवि लामिछानेले गृहमन्त्रालय सम्हाल्ने समझदारी भएकै हो । अहिले सात दलको गठबन्धन बचाउने कुरा छ, नयाँ दलप्रति जनताको आशाको कुरा पनि छ ।

अहिले नै कसैलाई यस्तो उस्तो मुद्दा लगाइन्छ भनेर हामी परिकल्पना नगरौं । गठबन्धनको आवश्यकताका हिसाबले बुद्धिमत्तापूर्ण निर्णय गर्नुपर्छ । खल्तीको गठबन्धन जोगाउन नलाग्ने अनि भुइँको टिप्न खोज्दा समस्या आउन सक्छ,’ नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।

एमाले नेता थापाले केपी शर्मा ओलीले रवि लामिछानेलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएको दिएको भन्ने खालका मिडियाबाजी दुराशययुक्त भएको पनि टिप्पणी गरे ।

उनले भने, ‘दुई शीर्ष नेताहरुबीच छलफल चलिरहेका बेला, विचाराधीन विषयमा टिकाटिप्पणी गर्नु उचित होइन । हाम्रा अध्यक्षले त्यसरी सार्वजनिक रुपमा बोल्नुभएको पनि छैन । एमालेको चाहना अनुसार गृहमा फर्काउने, नफर्काउने भनेर बहस नगरौं । विचाराधीन विषयलाई नतन्काऔं ।’

रवि लामिछानेले गरेको गल्ती सच्चाउन सर्वोच्च अदालतले गरेको फैसला मानिसकेको स्थितिमा अन्यथा कुरा गर्न नमिल्ने उनको भनाइ छ । थापाले थपे, ‘एकप्रकारको हेलचेक्र्याइँले रविजीको नागरिकता बदर हुन पुग्यो । उहाँ नेपाली नागरिक नभएर होइन, प्रमाणपत्रका कारण समस्या भएको हो ।

पहिचानको समस्या पनि होइन । उहाँ बकाइदा बोनाफाइड नागरिक हो । अब हामीले जनताको तहमा भएका निराशा, आक्रोशबारे पनि जवाफदेही हुनुपर्छ । नयाँ पुरानो भनेर कुनै किसिमका गल्ती ढाकछोप गर्नुहुँदैन । उहाँको जति हदसम्म गल्ती हो, त्यति हदसम्म सच्चाउन सर्वोच्च अदालतले भनिसकेपछि अरु विवादमा फस्नु जरुरी छैन ।’

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार ११:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।