Logo

प्रमुख समाचार

मन्त्री पद नपाए समर्थन फिर्ता !



नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् । यी दलले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरीलाई समर्थन फिर्ता लिएको जानकारी गराउने तयारी गरेका हुन् ।

मन्त्रिपरिषद् विस्तार गर्दा आफूहरूलाई सहभागी गराउन नखोजिएको र माग पूरा गर्नेतर्फ पनि पहल नभएको भन्दै यी तीन दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको स्रोतले बतायो। मुख्यमन्त्री गिरीले आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

प्रदेशसभामा तीन सांसद भएको जसपाले पार्टी केन्द्रको निर्देशनअनुसार लुम्बिनी प्रदेशमा पनि सरकारलाई समर्थन गरेको थियो । तर मन्त्रिपरिषद् विस्तारको तयारी मुख्यमन्त्रीले गरे पनि यसबारे आफूलाई कुनै जानकारी नगराइएको जसपाको भनाइ छ ।

‘हामी पनि सरकार समर्थित दल हौें तर हामीसँग मन्त्रिपरिषद् विस्तारलाई लिएर कुनै छलफल गरिएको छैन,’ जसपा लुुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले भने, ‘हामीलाई मन्त्रालय भागबन्डामा नपारिएको हामीले बुझेका छौं, अब सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्नुको विकल्प हामीले देखेका छैनौं ।’ जसपा लुम्बिनीले सरकारमा एउटा मन्त्रालय मागेको छ । तर जसपालाई सरकारमा सहभागी नगराउने तयारीमा मुख्यमन्त्री रहेको जानकारी आफूले पाएको यादवले बताए ।

यसैगरी लोसपाले पनि सरकारलाई दिएको समर्थनबाट पछि हट्ने संकेत देखिएको छ। लोसपाले पनि विकास निर्माणसँग सम्बन्धित मन्त्रालयसहित आफूलाई सरकारमा सहभागी गराउनुपर्ने प्रस्ताव राखेको छ । तर मन्त्रिपरिषद् बिस्तारको तयारी भइरहँदा आफूहरूसँग मुख्यमन्त्रीले परामर्श नगरेको लोसपाको भनाइ छ ।

‘हामीले एउटा विकासे मन्त्रालयसहित सरकारमा सहभागी हुने भनेका थियौं,’ लोसपा लुम्बिनी प्रदेश संसदीय दलका नेता सन्तोषकुमार पाण्डेले भने, ‘तर हामीसँग मन्त्रालय भागबन्डाका विषयमा कुनै पनि छलफल गरिएको छैन्, एकतर्फी ढंगबाट मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ, हामीलाई छुटाइयो भने सरकारलाई दिएको समर्थनबाट ब्याक हुन्छौं ।’ उनले आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको जानकारी अखबारबाट पाएको तर यसबारे मुख्यमन्त्रीले केही नभनेको बताए ।

‘मन्त्रिपरिषद् विस्तारबारे हामीसँग छलफल गरिएन, यसको मतलब हाम्रो आवश्यकता बोध भएन,’ उनले भने, ‘हाम्रो आवश्यकता बोध नहुने सरकारलाई हामीले समर्थन गरेर बसिरहनुको अर्थ पनि त भएन ।’ प्रदेशसभामा यो दलका तीन सांसद छन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आईतवार १०:००   :  बजे

648
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।