Logo

प्रमुख समाचार

एउटा कोटरीका कारण कांग्रेसले राष्ट्रपतिमा रोइलो गर्नु परिरहेको छ : भण्डारी



नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीले राष्ट्रपति पदको गरिमा नबुझेर दलहरुले अनावश्यक राजनीतीकरण गरेको आरोप लगाएका छन् ।

‘राष्ट्रपति सेरेमोनियल पद हो । तर यसको ज्यादै राजनीतीकरण भएकाले विभिन्न शंका-उपशंका हुन थालेको छ । त्यसैले यसमा कांग्रेसले आफ्नो दृष्टिकोण राखेको हो । समाजमा राम्रा काम गरेका व्यक्ति खोज्ने हो भने म र मेरै हुनुपर्छ भन्ने संकुचित भावना राख्नु आवश्यक छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।

नेता भण्डारीले सीमित व्यक्तिहरुको स्वार्थका कारण कांग्रेसले राष्ट्रपतिमा रोइलो गर्नुपर्ने स्थिति सिर्जना भएको पनि बताए । उनले थपे, ‘पार्टीभित्र छलफल गरेर निचोड निकालेको भए मुलुकमा यस्तो हुने थिएन । जो भए पनि कांग्रेसले समर्थन गरेको व्यक्ति हुन्थ्यो । प्रधानमन्त्री र सभामुख गुम्यो । अब राष्ट्रपतिमा यति धेरै रोइलो गर्नुपर्थेन । सीमित स्वार्थमा लागेको कोटरीका कारण आज कांग्रेसले छेउमा कचौरी थापेर बस्नुपरेको छ ।’

कांग्रेसबाट रामचन्द्र पौडेल, कृष्ण सिटौला, गोपालमान श्रेष्ठ आदि चर्चामा आएका नेताहरु राष्ट्रपतिको उम्मेदवार बन्न सक्ने उनले औंल्याए । भण्डारीले भने, ‘विभिन्न नेताहरुको नाम आएको छ । राष्ट्रपति भनेको गरिमामय पद हो, डम्पिङ साइट त होइन नि ।

भारतमा अर्ब मानिस छन् । हामीले नसुनेका नजानेका अत्यन्त ज्ञानी मानिस, जाति, समुदाय संस्कृतिको प्रतिनिधित्व हुने गरी राष्ट्रपति भएका छन् । हामीले पनि यसपटक पाराडाइम सिफ्ट गर्न सक्नुपर्छ ।’

राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा भारतीय विदेश सचिवको नेपाल भ्रमण गर्दा त्यसको प्रभाव पर्दैन भन्ने पत्रकार धमलाको प्रश्नमा भण्डारीले भने, नेपाल र भारतबीचको भाइचाराको सम्बन्ध हो । यो सम्बन्ध कसैले टुटाउन सक्दैन ।

नेपाली भारत जानु, भारतीय नेपाल आउनु सामान्य कुरा हो । आफूले गर्न नसक्ने, बुझ्न नसक्ने, आफ्नो स्वार्थभन्दा माथि उठ्न नसक्नेले मात्र यस्ता फजुल कुरा गर्छन् । राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा कोही नेता, सचिव आएर फरक पर्दैन । भारतको कारण नेपालको निर्णय प्रक्रियामा कुनै असर गरेको छैन । पर्नुहुँदैन ।’

प्रकाशित मिति : फाल्गुन २, २०७९ मंगलबार  १० : २८ बजे

303
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।