Logo

प्रमुख समाचार

देशमा डकैती गर्न नदिने गेटको पाले हो एमाले : अध्यक्ष ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धन भत्किनेप्रति आशङ्का व्यक्त गरेका छन् ।

मङ्गलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारूढ गठबन्धन भत्किनेप्रति आशङ्का व्यक्त गरेका हुन् । उनले संसद्को बनावट अस्थिरताको कारक हुने खालको रहेको भन्दै गठबन्धन भत्किनेप्रति शङ्का व्यक्त गरे । उनले देशभित्रका र बाहिरका शक्तिहरू देशलाई बरबाद पार्न लागेका जिकिर गरे ।

एमाले देशलाई बरबाद पार्नबाट रोक्ने गेटपाले भएको भन्दै अध्यक्ष ओलीले सबैभन्दा पहिले एमालेलाई प्रहार हुनसक्ने बताए । उनले देशमा स्थिरता र स्थायित्व हुन नदिका लागि अनेक प्रकारका षड्यन्त्रहरू भइरहेकाे दाबी गरे । उनले भने – ‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ ।

यो सफलताको कुरा हो । तर हाम्रा पार्टीका साथीहरू प्रसन्न भएको देखिन्छ । प्रसन्न हुनुपर्दछ । तर कथम कदाचित यो स्थिति फेरियो भने ? संसद्को बनावट नै अस्थिरताको कारक हुने खालको छ । बहुमत कसैको छैन । हामीसँग बहुमतभन्दा निकै तल सिट छ । र भित्रका, बाहिरका अनेक शक्तिहरू यो देश बरबाद पार्न क्रियाशील छन् ।

यो देश बर्बाद पार्न सबैभन्दा पहिले यदि कुनै डाकाले बैंकमा डकैती गर्नपर्‍याे भने पहिले पालेलाई प्रहार गर्छ । नेकपा एमाले यो देशमा डकैती गर्न नदिने गेटको पाले हो । त्यस कारण पहिले यसमाथि प्रहार हुनसक्छ । भइआएको छ । यहाँ स्थिरता, स्थायित्व हुन नदिने खालका प्रयासहरु भइरहेका छन् ।’

कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले विगतमा नेपालको शिक्षालाई बुर्जुवा शिक्षा भनेर प्रचार गरिनु गलत भएको बताए । कसैले पनि संस्थागतरूपमा शिक्षालाई बुर्जुवा शिक्षाको उपमा दिएर बहिष्कार गर्न नभनेको भए पनि कुनै व्यक्तिको लहडको भरमा त्यसो भनिएको उनकाे भनाइ छ । कुनै पनि बाहानामा पढ्ने काम नछोड्न उनले विद्यार्थीहरूलाई आग्रह गरे ।

अध्यक्ष ओलीले आउँदाे स्ववियु चुनावमा अनेरास्ववियु विजयी हुने कुरामा विश्वास व्यक्त गरे । उनले नेपाल विद्यार्थी सङ्घले अनेरास्ववियुसँग प्रतिस्पर्धा गर्न नसक्ने र अन्य विद्यार्थी सङ्गठनहरू भर्खरै सिक्दै गरेका भनी टिप्पणी गरे । उनले नेविसङ्घलाई अनेरास्ववियुले जहिले पनि छक्का हान्दै आएको टिप्पणी गरे ।

अध्यक्ष ओलीले अनेरास्ववियुको नेतृत्वका लागि सहमतिको प्रयास गर्न आग्रह गरे । उनले अनेरास्ववियु उद्देश्य बोक्ने संस्था भएको भन्दै महत्त्वकाङ्क्षा बोक्न नहुने बताए ।

प्रकाशित मिति : फाल्गुन ३, २०७९ बुधबार  ९ : ०५ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।