Logo

आजको तस्बिर

आज महाशिवरात्रि, पशुपति क्षेत्रमा दर्शनार्थीको घुइँचो(तस्बिरहरू)

देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो




काठमाडौं । महाशिवरात्रिका दिन आज शनिबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा देश-विदेशबाट आएका नागा जोगीहरुको उपस्थितिले अझै आकर्षित बनाएकाे छ ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदै छ ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । महाशिवरात्रीका लागि पशुपति क्षेत्र विकास कोषले कम्तीमा २० लाख श्रद्धालुले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ ।

कोषका अनुसार भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ । शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

पत्रकार, स्वयंसेवकबाहेक पशुपतिनाथ क्षेत्र प्रवेशमा अन्यलाई पासको व्यवस्था गरिएको छैन । सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइएको छ ।

सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको छ ।पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरूप झिलिमिली बनाइएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार १२:४९   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।