Logo

प्रमुख समाचार

राष्ट्रपतिको निर्वाचन : प्रधानमन्त्री र कांग्रेस नेताहरुकाबीच सकियो छलफल

पार्टीमा छलफल गरेर निर्णय दिन्छु : प्रधानमन्त्री प्रचण्ड



प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुबीच राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएको छ । प्रधानमन्त्री दाहाललाई भेट्न कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला आइतबार साँझ बालुवाटार पुगेका थिए ।

करिब दुई घन्टा संवाद भएपछि कांग्रेस नेताहरु बाहिरिएका छन् । भेटमा कांग्रेसका तर्फबाट नेताहरुले राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्न आग्रह गरेका छन् ।

जवाफमा प्रधानमन्त्री दाहालले त्यसबारे पार्टीभित्र छलफल गरेर निर्णय दिने बताएका छन् । बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले छलफल सकारात्मक रुपले अघि बढेको बताए । ‘हामीले आफ्ना कुराहरु राख्यौँ । उहाँका पनि कुराहरु सुन्यौँ । छलफल सकारात्मकरुपले अघि बढेको छ,’ उनले भने, ‘अझै केही दिन समय छ । उहाँले पार्टीभित्र छलफल गरेर निर्णय दिन्छु भन्नुभएको छ ।’

राष्ट्रपतिको निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारको मनोनयन दर्ता छ । बैठकमा नेताहरुबीच त्यसअघि संवादमार्फत निर्णयमा पुग्ने सहमति भएको छ ।

१० पुसमा कांग्रेससँगको गठबन्धन तोडेर एमालेको सहयोगमा प्रधानमन्त्री बनेका दाहाल अहिले राष्ट्रपतिको निर्वाचनसँगै कांग्रेससँगको सहकार्य अघि बढाउन चाहन्छन् । त्यसबारे यसअघि नेताहरुबीच एक्लाएक्लै भेटघाट र छलफल भइसकेको छ ।

प्रधानमन्त्री दाहालले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न सोमबार अपरान्ह पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आईतवार २२:२६   :  बजे

762
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।