Logo

राजनीति

उपसभापति विजयकुमार गच्छदारको सम्पूर्ण सम्पत्ति रोक्का



बालुवाटारकाे ललिता निवास (सरकारी) जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्व-उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पूर्ण सम्पत्ति रोक्का गरिएको छ। साे प्रकरणकाे छानबिन भइरहेकाले सम्पत्ति राेक्का गरिएकाे बताइएकाे छ ।

सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले गच्छदारकाे काठमाडौं, सुनसरी र मोरङमा रहेकाे जग्गा-जमिन लगायत सम्पत्ति रोक्का गरेको हो । साे प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातको सम्पत्ति पनि यसअघि नै  रोक्का गरिसकिएकाे छ ।

विभागले नेता गच्छदारसहित बालुवाटारकाे उक्त जग्गा हिनामिना प्रकरणमा मुछिएकाहरू सबैमाथि सम्पत्ति छानबिन गरिरहेको जनाएकाे छ । स्राेतका अनुसार विभागले उक्त प्रकरणमा संलग्न पूर्वमन्त्री र कर्मचारीहरूविरुद्ध छिट्टै मुद्दा दायर गर्ने थालेकाे छ । साे जग्गा प्रकरणमा नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अख्यितारले गत माघ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियाे ।

११२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी हिनामिना गरेको साे अभियोगमा अख्तियारले मुद्दा दायर गरेकाहरूको सूचीमा तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार, भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र उनीपछिका मन्त्री चन्द्रदेव जोशी, पूर्वसचिवत्रय दीप बस्न्यात, छवीराज पन्त र दिनेशहरि अधिकारीलगायत रहेका थिए । तीमध्ये ११० जनालाई कैद सजाय र बगो माग दाबी तथा ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाइएकाे थियाे ।

प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार  १० : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।