राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको भोलिपल्टै प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई उम्मेदवार बनाउने समझदारी गरेका छन् ।
नेपालको पक्षमा समर्थन जुटाउने गरी उनले शुक्रबार कांग्रेस र एमालेसँग बैठक गर्ने भएका छन् । दाहालको यो नीतिमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि छन् जसले उपराष्ट्रपतिमा आफ्ना उम्मेदवार उठाउन खोजेका छन् ।
माओवादी अध्यक्ष दाहालसँग बिहीबार एकीकृत समाजवादी र जसपाका नेताले छुट्टाछुट्टै छलफल गरेपछि माओवादी संसदीय दलको कार्यालयमा जसपासहित तीन दलका शीर्ष नेताको बैठक बसेको थियो ।
बैठकमा सहभागी एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले नेपाललाई राष्ट्रपतिमा अघि सार्ने र शुक्रबार कांग्रेस तथा एमालेसँग वार्ता गर्ने तय भएको बताए । प्रधानमन्त्री दाहालले पनि राष्ट्रपतिका विषयमा शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल हुने जनाएका छन् ।
आफ्नो पार्टीबाट राष्ट्रपति बन्ने निश्चित नदेखिएपछि एमाले अध्यक्ष ओलीले आइतबार नै एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई अघि सर्न प्रस्ताव गरेका थिए ।
एकीकृत समाजवादीलाई एमालेमा समाहित गरेर राष्ट्रपति बन्न नेपाललाई ओलीको सर्त थियो । ओलीले प्रधानमन्त्री दाहाललाई बुधबार भेटेर पनि नेपाल र सुवास नेम्वाङमध्ये एक जनालाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए ।
त्यही दिन नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफूलाई समर्थन गर्न आग्रह गरेका थिए । एकीकृत समाजवादी अध्यक्ष नेपालले राष्ट्रपतिमा आकांक्षा भने पहिलेदेखि नै राख्दै आएका थिए ।




















प्रतिक्रिया