काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ । यससँगै उनले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा भाग लिन पाउने भएका छन् ।
सांसद चौधरी निलम्बित भएका कारण मतदाता सूचीमा यसअघि उनको नाम समावेश थिएन । बिहीबार निर्वाचन आयोगमा सांसद चौधरीमाथि संसद्ले गरेको निलम्बन फुकुवाको पत्र पुगेसँगै उनको नाम मतादाता सूचीमा समावेश गरेर अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोग स्रोतले बताएको छ ।
सांसद चौधरी अदालतको आदेश कार्यान्वयन गराउनका लागि गत माघ १९ गते पक्राउ परेका थिए । झन्डै १० वर्षअघि ट्याक्टरमा आगजनी गरेको घटनामा दोषी ठहर ६ महिना कैद र ८ लाख १९ हजार बिगो भराउनका लागि पक्राउ परेपछि उनी प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका थिए ।
यस्तै हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरीले पनि राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । महतो निलम्बनमा नपरेकोले उनको नाम पनि मतदाता सूचीमा समावेश रहेको छ ।




















प्रतिक्रिया