Logo

राजनीति

महेन्द्रनारायण निधि प्रजातान्त्रिक आन्दोलनको विशिष्ट पहिचान : प्रधानमन्त्री



काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिंसा, लोकतन्त्र र सामाजिक न्यायका पक्षधर महेन्द्रनारायण निधि नेपालको प्रजातान्त्रिक आन्दोलनको विशिष्ट पहिचान भएको बताएका छन् । निधिको १०१औँ जन्मजयन्तीका अवसर पारेर महेन्द्रनारायण निधि प्रतिष्ठानले आज प्रधानामन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले विचार, निष्ठा, संस्कृति, अनुशासन र पद्धति सिकाइराख्ने प्रेरणाको अनन्त स्रोतका रूपमा निधि रहेका बताए ।

“राजनीतिमा कहिलेकाहीँ केही व्यक्ति ठूलो पदमा पुग्न पनि सक्छन्, योग्यता र क्षमता भए पनि कोही त्यस्तो पदमा नपुग्न सक्छन्, तर समाजले त्यस्ता व्यक्तिलाई सम्मान गरिरहेकै हुन्छ । पदमा पुगेको व्यक्तिहरू पनि निधिजस्ता व्यक्तित्वका अगाडि झुकेकै हुन्छन्”, उनले भने । विपी कोइराला, गणेशमान सिंह वा कृष्णप्रसाद भट्टराईलगायत नेताले पनि निधिको निष्ठा, संस्कार, समर्पणलाई अनुसरण गर्दै आएको जनाउँदै उनले सबैले निधिलाई सम्मान गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्र र प्रजातन्त्रप्रतिको निष्ठाबाट कहिल्यै विचलित नभएका निधिको सादगी जीवन सबैका निम्ति प्रेरणादायी रहेको बताए। नयाँ पुस्ताले निधिबाट प्रेरणा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले निधिको मूल्य, मान्यताप्रतिको समर्पण सबैले अनुसरण गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार २०:०३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।