काठमाडौं । आज गणतन्त्र प्राप्तिपछि नेपालमा चौथो राष्ट्रपतिको निर्वाचन हुँदैछ । यसपटक कांग्रेसका पाका नेता रामचन्द्र पौडेल र एमालेका नेता सुवासचन्द्र नेम्वाङबीच प्रतिष्पर्धा हुँदैछ ।
अन्य निर्वाचनमा जस्तै यो निर्वाचन पनि मतदानबाटै हुने हो । तर राष्ट्रपति, उपराष्ट्रपतिको मतदानमा एक जनाको मतभार एक नै हुँदैन । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा हरेक प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको मतभार ७९ हुन्छ । र, हरेक प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ ।
निर्वाचन आयोगका अनुसार देशको जनसंख्याका आधारमा प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको मतभार तोकिन्छ । यो पटक २०७८ को जनसंख्या सार्वजनिक भइसके पनि २०६८ सालकै जनसंख्याको आधारमा मतभार तोकिने आयोगले जनाएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको गरी ३३४ जना सांसद संख्याले २०६८ सालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ लाई भाग गर्दा जति आउँछ, त्यसलाई पनि १००० ले भाग गर्दा ७९ दशमलव ३२ आउँछ । मतदाता व्यक्ति भएका कारण दशमलवपछिको अंक जोड्न सकिँदैन । एक जना मतदाताको मतभार ७९ तोकिएको आयोगले जनाएको छ ।
त्यस्तै प्रदेशसभाको ५५० सांसदले जम्मा जनसंख्यालाई भाग गरी जति आउँछ, त्यसलाई पनि १००० ले भाग गरेपछि आउने संख्या नै प्रदेशसभाको एकजना मतदाताको मतभार हुन आउँछ । र प्रदेशसभा सदस्यको मतभार ४८ हुन आउँछ ।
यी मतभारमध्ये मतदानपछि जसले ५० प्रतिशत बढी कटाउँछ, सोही उम्मेदवार राष्ट्रपति निर्वाचित हुने हुन् । उपराष्ट्रपति निर्वाचित हुने पनि यसैगरी हो ।
पहिलो चरणमा ५० प्रतिशतभन्दा बढी मतभार राष्ट्रपतिका कुनै उम्मेदवारले प्राप्त नगरे दोस्रो चरणमा सर्वाधिक मत प्राप्त गर्ने दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । र, दोस्रो चरणमा पनि उम्मेदवारहरूले ५० प्रतिशत मतभार नपाएको अवस्थामा तेस्रो चरणमा भने सबैभन्दा बढी मतभार प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुने संवैधानिक प्रावधान छ । नेपालको पहिलो राष्ट्रपति निर्वाचनमा बहुमत नआएका कारण दुई पटक निर्वाचन गर्नु परेको थियो । यसपटक पनि त्यस्तो नहोला भन्न सकिन्न । तर कांग्रेस र माओवादीसहितका गठबन्धनका सांसद सबैले इमान्दारपूर्वक मतदान गरे भने रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुने सम्भावना छ ।




















प्रतिक्रिया