Logo

अर्थ

मिटरब्याज पीडितलाई भेटेर रवि लामिछानेले भने– समस्या समाधानको पहल गर्छु



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले मिटरब्याज पीडितहरुलाई भेटेर समस्या साधानका लागि पहल गर्ने आश्वास दिएका छन् । न्याय माग्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुले टंगालमा प्रदर्शन गरिरहेका बेला त्यही पुगेर उनले यस्तो आश्वासन दिएका हुन् ।

लामिछानेले सरकारले पीडितहरुको माग तुरुन्त समाधान गरेर समस्याको समाधान गर्नुपर्ने लामिछानेले बताए । ‘समर्थन र विरोध भन्दा पनि समाधानको पहल गर्न आएको हुँ,’ उनले भने । आफू गृहमन्त्री हुँदा मिटरब्याज पीडितहरुको समाधान गर्न पहल गरेको भन्दै अहिले पनि त्यो पहल जारी राख्ने उनले बताए । उनले भने, ‘जाली तमसुक च्यातिनुपर्छ, गरिबलाई ऋणमुक्त बनाउनुपर्छ । त्यसका लागि मैले हस्ताक्षर गरेर हुने भए अहिले यहीँ नै हस्ताक्षर गर्न तयार छु ।’

न्याय माग्दै महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर मिटरब्याज पीडितहरु काठमाडौं आएका हुन् । सोमबार काठमाडौं आइपुगेका उनीहरु खुलामञ्चभित्र प्रवेश गरेर बस्न खोज्दा काठमाडौं महानगरपालिकाले रोकेको थियो । रातभर खुला सडकमा रात बिताएका उनीहरु आज बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्न भन्दै अगाडि बढेका थिए । तर निषेधित क्षेत्रतर्फ प्रवेश गर्न नपाइने भन्दै प्रहरीले टंगालमै उनीहरुलाई रोकेको छ । त्यसपछि उनीहरुले टंगालमै बसेर प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार १२:१८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।