Logo

प्रमुख समाचार

माधव नेपालबाट कम्युनिस्ट र देशभक्ति आन्दोलनको नेतृत्व हुन सक्दैन : झलनाथ खनाल



नेकपा एकीकृत समाजवादीका केही वरिष्ठ नेताहरू नेकपा एमालेमा फर्किने तयारीका लागि छलफलमा जुटेका छन् । नेकपा एसका संस्थापक नेताहरू मुकुन्द न्यौपाने, केदार न्यौपाने र चूडामणि जंगली एमालेमा फर्किन इच्छुक देखिएका छन् ।

पार्टीमा अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियतामा रहेका नेता मुकुन्द न्यौपानेले लामो समयदेखि नेकपा एसभित्र फरक मत राख्दै आएका छन् । उनले नेपाली कांग्रेसको सहयोगी भएर वामपन्थी आन्दोलनको हित नहुने भन्दै एमालेसँग मिल्न लिखित प्रस्ताव समेत राखेका थिए ।

न्यौपानेले पछिल्लो पटक माधव नेपालले राष्ट्रपति पद लिएर पार्टी एकता गर्ने प्रस्ताव समेत नमानेको भन्दै अध्यक्ष नेपाल इण्डो–अमेरिकन एजेण्टमा पतन भएको आरोप लगाएका छन् । उनले माधव नेपालबाट नेपालको कम्युनिस्ट र देशभक्तिको आन्दोलनको नेतृत्व नहुने बताएका छन् ।

न्यौपानेसँग नेकपा एसको मंगलवार बसेको बैठकले स्पष्टीकरण सोधेको छ । सोही बैठकले उपाध्यक्ष केदार न्यौपाने र चूडामणि जंगलीको राजीनामा स्वीकृत गरिसकेको छ । यी नेताहरू एमालेमा फर्किनका लागि छलफलमा छन् । अन्य असन्तुष्ट नेता कार्यकर्तासहित समेटेर एमालेमा फर्किने तयारी भइरहेको जंगलीले बताएका छन् ।

नेकपा एसका अध्यक्ष माधव नेपालको पछिल्लो गतिविधिप्रति नेता झलनाथ खनाल समेत सन्तुष्ट छैनन् । उनले कम्युनिस्ट पार्टी कमजोर बनाउन माधव नेपालको भूमिका देखिएको भन्दै अब के गर्ने भन्नेबारेमा केन्द्रीय तहका नेताहरूसँग परामर्श थालेका छन् ।

उनले कुनै पनि बेला राष्ट्रियता र वामपन्थी आन्दोलनको पक्षमा कदम चाल्नुपर्ने हुनसक्छ भन्दै आफूनिकट नेता कार्यकर्ताहरूलाई तयार रहन भनेका छन् । खनालले माधव नेपालबाट वैचारिक सैद्धान्तिक काम नहुने र कम्युनिस्ट आन्दोलन पनि अघि नबढ्ने बताउन थालेका छन् ।

खनालले पछिल्लो स्थायी कमिटी र सचिवालय बैठकमा पनि लामो सम्बोधन गर्दै नेपालको आलोचना गरेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १०:२३   :  बजे

228
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।