Logo

प्रवास

विदेशमा रहेका नेपाली श्रमिकलाई आजदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा



काठमाडौं । सरकारले रोजगारीका शिलशिलामा विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरु गरेको छ । विदेशी भूमिमा श्रमिकले भोग्दै आएका स्वास्थ्य समस्या सम्बोधन गर्न आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श उपलब्ध गराइने आज (बुधबार)देखि निःशुल्क टेलिमेडिसिन सेवा थालिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

टेलिमेडिसिन सेवा बुधबार बिहान १० बजेदेखि सुरु भएको हो । सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह गरिने बोर्डका प्रवक्ता राजन पौडेलले जानकारी दिए । नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, ह्वाट्सएप वा इमोलगायत सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन् ।

उक्त कल टेलिमेडिसिनका मेडिकल अधिकृतले प्राप्त गरी बिमारी श्रमिकलाई विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा उपलब्ध गराइनेछ। आइतबार र शुक्रबार गन्तव्य मुलुकमा सार्वजनिक बिदा पर्ने भएकाले सो दिन सेवा उपलब्ध गराउन लागिएको प्रवक्ता पौडेलले जानकारी दिए।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १२:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।