सत्तागठबन्धनमा रहेका ११ मध्ये तत्काल नौ दल सरकारमा सहभागी हुने गरी मन्त्रिपरिषद् विस्तार हुने भएको छ । गठबन्धनमा कसले कति मन्त्रालय पाउने टुंगो लागेको छ । कुन दलले कुन–कुन मन्त्रालय पाउने बिहीबार बिहान टुंग्याएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ ।
प्रधानमन्त्री र कांग्रेस सभापतिबीच कांग्रेसले अर्थ, परराष्ट्र, स्वास्थ्य, रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सहरी विकास मन्त्रालय पाउने गरी छलफल भएको छ । केही नाममा हेरफेरको सम्भावना छ ।
कांग्रेसमा आठ मन्त्रालयमा दश नाम चर्चामा छन् । कांग्रेसबाट सरकारको नेतृत्व गर्ने गरी उपपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी दिएर उपसभापति पूर्णबहादुर खड्कालाई पठाउने तयारी छ । तर, खड्काले रक्षाभन्दा विकासे मन्त्रालयमा रुचि देखाएपछि गठबन्धनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग साटफेर गर्न सकिने विकल्पमाथि पनि छलफल भइरहेको छ । खड्काले गृहमा अपेक्षा राखेका थिए । तर, गृह आलोपालो सरकारमा पनि प्रधानमन्त्रीको पार्टीले पाउने गठबन्धनमा सहमतिपछि माओवादीले पाउने टुंगो लागेको छ ।
अर्थमन्त्रीमा डा। प्रकाशशरण महत पक्का छन् । स्वास्थ्यमा प्रदीप पौडेलको नाम छ । बाँकीमा एनपी साउद, मोहनबहादुर बस्नेत, सीता गुरुङ, रमेश रिजाल, दीपक खड्का, धनराज गुरुङ र डिगबहादुर लिम्बूमध्येबाट मन्त्री बन्ने तय भएको छ । यस विषयमा बिहीबार प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच थप छलफल हुने बताइएको छ ।
माओवादीले गृहसहित सकेसम्म पुरानै मन्त्रालय लिन चाहेको छ । हाल माओवादीसँग भौतिक पूर्वाधार नारायणकाजी श्रेष्ठ, सञ्चार रेखा शर्मा, सामान्य प्रशास अमनलाल मोदी र पर्यटनमा सुदन किराती मन्त्री छन् । अब गृह मन्त्रालय श्रेष्ठले सम्हाल्ने भएका छन् । मन्त्रालय हेरफेर भए माओवादी मन्त्रीहरूको भूमिका पनि बदलिनेछ ।
जसपाले प्रधानमन्त्री प्रचण्डसँग भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्रालयमध्ये दुई दाबी गरेको छ । तर, जसपा स्रोतका अनुसार प्रधानमन्त्रीले तीनमध्ये एक दिने आश्वासन दिएका छन् । दुई भाग पाएको जसपाबाट अशोक राई, राजकिशोर यादव, सुशीला श्रेष्ठ, प्रदीप यादव र नवलकिशोर साहमध्येबाट मन्त्री हुने चर्चा छ ।
एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा यातायातसहित दुई मन्त्रालय पाउने भएको छ । उपमहासचिव प्रकाश ज्वालाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्ने भएका छन् । उपाध्यक्ष बेदुराम भुसाल पनि मन्त्री बन्ने भएका छन् । तर, उनको मन्त्रालय टुंगिन बाँकी छ । भुसालले शिक्षा, कृषि र श्रममध्ये एक मन्त्रालय सम्हालेछन् । तर, एकीकृत समाजवादीले तीन मन्त्रालयमा दाबी गरिरहेको छ । एक नेताले भने, ‘हाम्रो दाबी तीन मन्त्रालयमा हो । हामी विकासे मन्त्रालय लिएर सरकारमा जाँदै छौँ । संख्या र मन्त्रालयबारे भोलिसम्ममा टुंगो लागेर शपथको सम्भावना छ ।’
त्यस्तै, एक राज्यमन्त्रीसहित एक मन्त्रालय पाएको जनमतबाट हाल खानेपानीमन्त्री रहेका अब्दुल खान नै मन्त्री हुनेछन् । तर, उनको जिम्मेवारी फेरिने सम्भावना छ । खानले यसअघि सरकारमा सहभागी हुँदा आश्वासन पाएको उद्योग मन्त्रालय नै पाउने सम्भावना छ ।
नेसपाबाट अध्यक्ष महिन्द्र राय यादव मन्त्री बन्ने भएका छन् । यादवले प्रधानमन्त्रीले तोकेको मन्त्रालय लिएर सरकारमा सहभागी हुने बताए । ‘दलीय भागबन्डामा हाम्रो पार्टीलाई एउटा मन्त्रालय पर्ने भयो । मन्त्रालय टुंगो लागेको छैन । दलीय भागबन्डामा जुन मन्त्रालय परे पनि स्वीकार्य छ,’ उनले भने ।
रेशम चौधरीसहित टीकापुर घटनामा मुछिएका राजबन्दीको रिहाइ र मुद्दा फिर्ताको माग सम्बोधन नभएसम्म सरकारमा नजाने बताउँदै आएको नागरिक उन्मुक्ति पार्टीको भागमा पनि एक मन्त्रालय छुट्याइएको छ । नागरिक उन्मुक्ति पार्टीले सहरी विकास मन्त्रालय दाबी गरेको छ । उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्ने तयारीमा छिन् ।
दुई मन्त्रालय पाएको लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीसँग कृषि, श्रम र ऊर्जामध्ये एक मन्त्रालय दाबी गरेका छन् । प्रधानमन्त्रीले बिहानसम्म तीनमध्ये एक दिने आश्वासन दिएको लोसपा स्रोतको दाबी छ । लोसपाबाट वरिष्ठ नेता शरत्सिंह भण्डारी मन्त्री हुने सम्भावना छ । यद्यपि, उनको नाममा औपचारिक निर्णय भने भएको छैन ।
त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका सांसद प्रभु साह पनि मन्त्री हुने भएका छन् । उनले हालै स्थापना गरेको आम जनता पार्टीले एक मन्त्रालय पाएको हो । तर, कुन मन्त्रालय भन्ने खुलेको छैन ।




















प्रतिक्रिया