काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सबै धर्मले शान्ति, सामाजिक सहिष्णुता एवं भातृत्वअभिवृद्धिमा सहयोग पुग्ने बताएका छन् ।
जैन धर्मका प्रणेता भगवान महावीरको २६२२औँ जन्मोत्सवको अवसरमा नेपाल जैन परिषद्ले आयोजना गरेको समारोहमा उनले धर्मको माध्यमबाट समाज र राष्ट्रलाई भावनात्मक एकता बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका हुन् ।
“धर्मको विभिन्न प्रकार भए पनि सबै धर्मको लक्ष्य एउटै हुन्छ । धर्मको परिभाषा र प्रभाव सार्वजनिक हितको भावनाबाट ओतप्रोत हुने भएकाले जनकल्याणलाई केन्द्रमा राखेको हुन्छ” उपराष्ट्रपति साहले भने ।
उपराष्ट्रपति साहले नेपाल आफैमा ऋषिमुनिहरुले तपस्या गरेको र भगवान ऋषवदेव, नविनाथ, मल्लिनाथ, पाश्र्वनाथ, महावीर एवं आचार्य स्थूलिभद्र स्वामी जस्ता महापुरुषको प्रभाव क्षेत्र रहेको हुनाले हामी नेपालीहरु आफूलाई गौरवान्वित ठान्ने बताए । उनले दुराग्रह, अनेकान्तवाद, आग्रहीनताले पारिवारिक, सामाजिक र विश्वशान्तिका लागि वर्तमानमा आम जनमानस साकाहारी संयमी एवं मितव्यही हुन आवश्यक रहेको खाँचो औँल्याए ।
कार्यक्रममा समर्णनिर्देशिका डा. निर्माण प्रज्ञाले भवगान महावीर एक व्यक्ति मात्र नभइ चेतना, सन्देश हो भन्दै विश्व शान्ति तथा मानव र जीजन्तुको कल्याणका निम्ति उनको सिद्धान्तलाई आत्मसाथ गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
जैनधर्म परिषद्का अध्यक्ष महेन्द्रकुमार जैनले जैन धर्मको आफ्नो मौलिक तत्वज्ञान, अद्भूत दृष्टि अर्थात समग्रमा एउटा जीवन्त धर्म भएकाले आजको सन्दर्भमा पनि जैन धर्मको महत्व सान्दर्भिक बनिरहेको उल्लेख गरे । सो अवसरमा ‘जिन संसार’ नामक स्मारिका विमोचन गरिएको थियो ।
चैत २१ गते भगवान महावीरको जन्मोत्सव नेपालसहित विश्वका विभिन्न मुलुकमा जैन–अजैन समुदायले हर्षोउल्लासका साथ मनाउदै आएका छन् ।





















प्रतिक्रिया