काठमाडौं । नेपाली कलाकारहरुले कमैले एकले अर्काको प्रशंसा गरेको पाइन्छ । कित्ता कित्तामा बाँडिएका नेपाली कलाकारहरु बेलाबेला विवादमा तानिन्छन् । ‘महानायक’को विषयमा केही वर्ष अगाडि यस्तै विवाद चर्किएको थियो ।
केही समय अगाडि प्राइम टाइम टेलिभिजनमा कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीसँगको कुराकानीमा दीपाश्री निरौला र दिपकराज गिरीले महानायक पदको विवाद खडा गरेको भन्दै आलोचना भएको थियो । दीपाश्री निरौलाले राजेश हमाललाई महानायक मान्न नसकिने आशयको अभिव्यक्ति दिँदा कलाकार दिपकराज गिरीले उनलाई समर्थन गरेका थिए । उक्त कार्यक्रम पछि दिपकराजले आफूलाई ‘महानायक’ पद हुनुपर्ने आशयको अभिव्यक्ति दिएको भन्दै आलोचना भएको थियो । धेरैले त्यस घटनापछि राजेश हमाल र दिपकराज गिरीको सम्बन्ध चिसिएको आँकलन गरेका थिए ।
हमाल भने यस विषयमा चूप थिए । आजको विभूषण लिएपछिको समयमा भने दिपकराज गिरीले हमाललाई सम्मान गर्दै सामाजिक सञ्जालमा फोटो शेयर गरेका छन् । शुक्रबार दिपकराज गिरी र राजेश हमाल विभुषणको पदक लिन शितल निवास पुगेका थिए । शितल निवासमा नयाँ वर्षको अवसरमा राष्ट्रपतिबाट विभुषणको पदक प्रदान गरिएको थियो । गएको असोज ३ गते घोषणा गरिएको विभूषितहरुको लिष्टमा कलाकार दिपकराज गिरी र महानायक राजेश हमाल समेत रहेका थिए ।
आजको विभुषण लिने कार्यक्रमपछि दिपकराज गिरीले सामाजिक सञ्जालमा राजेश हमालसँगको तस्बिर शेयर गर्दै लेखेका छन्, ‘आदरणिय राजेश हमाल दाइ र म राष्ट्रपति भवन, नमस्कार सबैलाई ।’ फोटोको कमेन्ट बक्समा धेरैले दुबैजनाको प्रशंसा गरेका छन् । केहीले भने ‘महानायक’को विषय कोट्याउँदै दुवैजना महानायक भनेका छन भने कोहीले दिपकराजलाई उपमहानायकको संज्ञा दिएका छन् ।
केहीले भने महानायक आफू हुनुपर्ने असादर्भिक तर्क गरेको आशयले दिपकराजको व्यंग्य गरेका छन् । धेरैले भने दुवैजनाको सम्बन्ध सुधार भएको आँकलन गरिएको छ ।
प्रतिक्रिया