काठमाडौं । २५६७औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको छ । रूपन्देहीको लुम्बिनी, काठमाडौँको स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा बौद्ध अनुयायीको बिहानैदेखि घुइँचो लागेको हो ।
यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिएका छन् । स्वयम्भू परिसरमा रहेको आनन्द कुटी विहारमा बुद्धको अस्तु धातु दर्शनका लागि राखिएको छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो ।
ईसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रूपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।
बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । बुद्धजयन्ती मूल समारोह सुरु हुनुअघि लुम्बिनीको ५ नं गेटदेखि अन्तर्राष्ट्रिय सभाहलसम्म झाँकीसहितको शोभायात्रा निकाल्ने तयारी छ । शोभायात्रा सभाहलसम्म पुगेपछि मूल समारोह सुरु हुने लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले जानकारी दिए ।
प्रतिक्रिया