Logo

अर्थ

मह उत्पादनबाट वार्षिक ३५ लाख आम्दानी



पर्वत । घर वरिपरि मौरीका घारैघार । घर अघि ठूलो सुन्तलाको बगैँचा । बिहानै उठेदेखि साँझ नपरुञ्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो । परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण तिमिल्सिनाले देखाएका छन् ।

दुई दशकदेखि व्यावसायिक मौरीपालन व्यवसाय गर्दै आएका कृषक तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक रु ३५ लाख रुपैयाँसम्म कमाएको बताउँछन् । उनकाे घरमा अहिले सय मौरीका घार छन् । मौसममा यसको सङ्ख्या थपिन्छ ।

एपि सेरेना जातको मौरी पाल्नुभएका तिमिल्सिनाले यो व्यवसायबाट गतिलो कमाइ गर्न सफल भएको बताए । सुरुमा चिसोले ५० प्रतिशत घाटा ब्योहोरेका तिमिल्सिनाले पछिल्ला वर्ष सोचे जतिनै आम्दानी हुने गरेको बताए । उनले वर्षमा दुई पटक मह निकाल्छन् ।

विसं २०५७ बाट व्यावसायिक माहुरीपालन थालेका तिमिल्सिनाको मुख्य आम्दानी यही नै हो । तिमिल्सिना भन्छन्, “ मह घरबाटै बिक्री हुन्छ । गुणस्तरीय भएकाले डुलाउँदै हिँड्नुपर्ने अवस्था छैन । मागअनुसार ग्राहकलाई पु¥याउन सकिरहेको छैन ।” उनले मह मात्र हैन मौरीको घार र गोलासमेत बिक्री गर्छन् ।

उनले गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने बताए । उनी भन्छन्, “कुश्माबजार, बागलुङ, काठमाडौँ, पोखरा र बुटबललगायतका क्षेत्रवाट व्यवसायी घरमै आएर लैजान्छन् ।”

विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि तिमिल्सिना मौरीपालनमा हौसिए । उनले वर्षमा तीन सय घारसम्म बिक्री गर्छन् । मौरीसहितका घार प्रतिगोटा रु नौ हजार र मह प्रतिकिलो एक हजारमा बिक्री हुन्छ । विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोत तिमिल्सिनाको फार्म बनेको छ । उहाँले एक सिजनामा सात क्विन्टलभन्दा बढी मह काढ्दै आएको अनुभव सुनाए । रासस

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार १०:३२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।