खोला र खोलाको बहाव क्षेत्र भित्रको जग्गा त्रुटिवश व्यक्ति विशेषको नाममा दर्ता कायम देखिएकोले लगत कट्टा गरेर सार्वजनिक प्रयोजनमा ल्याउन अनुरोध
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सिंहदरबारलाई पत्र पठाएको छ ।
महानगरका प्रमुख बालेन्द्र साह (बालेन) को निर्णयमा मन्त्रालयलाई पत्र पठाइएको महानगरपालिकाले जनाएको छ । मेयर बालेनको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले मन्त्रालयलाई पत्र लेखेका हुन । पत्रमा भनिएको छ, ‘हात्तीसार क्षेत्रमा टुकुचा खोला र खोलाको बहाव क्षेत्र भित्रको जग्गा त्रुटिवश व्यक्ति विशेषको नाममा दर्ता कायम रहन गएको देखिएको हुँदा यथाशीघ्र व्यक्ति विशेषको नाममा दर्ता रहेको जग्गा लगत कट्टा गर्ने र सार्वजनिक प्रयोजनमा रहने गरी प्रबन्ध गर्ने सम्बन्धमा आवश्यक कारवाहीको लागि मालपोत ऐन, २०३४ को दफा २४ को प्रयोजनार्थ अनुरोध गरिन्छ ।’
मालपोत ऐन, २०३४ को दफा २ ले नदी, खोलानाला तथा सोको क्षेत्राधिकारको जग्गालाई सरकारी÷सार्वजनिक जग्गा मानेको छ । सोही ऐनको दफा २४ (२) ले सरकारी÷सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता हुन गएको रहेछ भने त्यस्तो दर्ता स्वतः बदर हुने र सम्बन्धित मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले सोको लगत कट्टा गर्नुपर्ने व्यवस्था गरेको छ । त्यही कानुनी व्यवस्थाको प्रतिकूल हुने गरी काठमाडौँ महानगरपालिका वडा नं. १ हात्तीसार क्षेत्रमा टुकुचा खोलाको जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम रहन गएको भन्दै महानगरले पत्रमार्फत मन्त्रालयलाई सच्चाइदिन माग गरेको छ ।
‘नेपाल सरकार मन्त्रिपरिषद्को वि. सं. २०६५ मंसिर १ गतेको निर्णयले कुनै पनि खोला, खोल्छी र राजकुलो छोप्न बन्देज लगाएको छ । सो निर्णयले टुकुचा खोलाको वहाव क्षेत्र तथा सोको दायाँबायाँको ४÷४ मिटरको जग्गा माथि कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने स्पष्ट मापदण्ड तोकेको छ । उक्त मापदण्ड विपरीत हात्तीसार क्षेत्रमा टुकुचा खोला पूर्णरुपमा छोपिएको अवस्था छ ।
टुकुचा खोला छोपिएको विषयमा सम्मानित उच्च अदालत पाटनबाट २०७९ माघ १८ गते आवश्यक दिशा निर्देशसहितको आदेश जारी भएको थियो। आदेशले टुकुचा खोलालाई खुला कायम गर्ने विकल्पका सम्बन्धमा काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण गरेको थियो ।




















प्रतिक्रिया