Logo

अर्थ

अन्नपूर्ण केवलकारले आईपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल



काठमाडौं । पर्यटकीय नगरी पोखरामा विगत दुई वर्षदेखि सञ्चालनमा रहेको अन्नपूर्ण केवलकारले साधारण सेयर (आईपिओ )जारी गर्ने तयारी गरेको छ । अन्नपूर्ण केवलकार नेपालमा सञ्चालित केवलकारमध्ये हिम शृङ्खलाको सबैभन्दा नजिक र विदेशी लगानी भएको एकमात्रै केवलकार हो ।

आईपिओ निस्कासनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । बुधबार आयोजित कार्यक्रममा अन्नपूर्ण केवलकारका अध्यक्ष कालु गुरुङ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

२०७८ साल फागुन ६ देखि सञ्चालनमा आएको अन्नपूर्ण केबलकारले कम्पनीको जारी पूँजी १ अर्ब ५५ करोडको २० प्रतिशतले हुने ३१ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणहरुलाई समेत बिक्री गर्न लागेको हो । केवलकारमा जनताको सहभागिता बढाउनको लागि २० प्रतिशत आईपिओ निकाल्ने निर्णय गरेको कम्पनीका अध्यक्ष गुरुङले जानकारी दिए । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले आईपिओ निकाल्ने छ ।

पाँच वर्ष अगाडि निर्माण सुरु भएको केवलकार कोभिडको कारण तोकिएको भन्दा दुईवर्ष ढिलागरी सञ्चालनमा ल्याइएको थियो । आईपिओ निष्कासनपछि कम्पनीले थप परियोजनामा समेत लगानी गर्ने योजना बनाएको जानकारी गुरुङले दिए । पोखरा महानगरपालिका–१८ स्थित सेदीबगर स्थित अन्नपूर्ण केवलकारको बटम स्टेशन निर्माण गरिएको छ । जसको निर्माण लागत १ अर्ब ९७ करोड रुपैयाँ लागेको कम्पनीले जनाएको छ । जसमा कम्पनीका संस्थापकले सुरुमा इक्विटीमा ९० करोड लगानी गरेका थिए । केवलकार निर्माणको लागि कम्पनीले बैंकसँग १ अर्ब ७ करोड रुपैयाँ ऋण लिएको थियो ।

प्रकाशित मिति : बैशाख २७, २०८० बुधबार  ६ : १८ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।