Logo

प्रमुख समाचार

वाइडबडी र ओम्नी काण्डको फाइल खोल्ने तयारीमा सरकार



काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने संगठित गिरोहका मानिस धमाधम पक्राउ परिरहेका बेला सरकारले थप ठूला भ्रष्टाचार मुद्दामा छानबिन थाल्ने तयारी गरेको छ ।

पछिल्ला दशकमा भएका बाइडबडी खरिद, बालुवाटार जग्गा प्रकरण, ओम्नी काण्डका नाममा चर्चित कोराना महामारीका समयमा औषधि खरिदमा भएको घोटाला प्रकरण, सार्वजनिक जमिन भाडामा दिँदा भएका अनियमितताबारे छानबिनको तयारी भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट स्रोतले बाइडबडी खरिद, बालुवाटार जग्गा प्रकरण, ओम्नी काण्डका नाममा चर्चित कोराना महामारीका समयमा औषधि खरिदमा भएको घोटाला प्रकरणलगायत सबैखाले भ्रष्टाचारका फाइल खोल्ने सरकारले तयारी गरेको बताएको छ ।

अहिलेको नक्कली भुटानी शरणार्थीसम्बन्धी राज्यविरुद्धको अपराधसम्बन्धी विषयको छानबिन निस्कर्षमा पुगेपछि अरु भ्रष्टाचारको विषयमा प्रवेश गर्ने सरकारको तयारी रहेको स्रोतको दाबी छ । केही दिनयता राजधानीसहित देशका विभिन्न स्थानमा सरकारले अहिले गरेको कामको समर्थन र खबरदारीमा प्रदर्शन भइरहेका छन् । प्रदर्शनमा सहभागी नागरिकले भ्रष्टाचारका अरु फाइल पनि खोल्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहले गरेको अपराध बाहिरिएसँगै नेपालमा भएका भ्रष्टाचारका काण्डहरुबारे छानबिन गर्नुपर्ने माग उठिरहेको छ । सर्वसाधारणसँग रकम असुली गर्ने गिरोहसँग मिलोमतो गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमालेका सचिव टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित एक दर्जन व्यक्ति पक्राउ परिसेकका छन् ।
अरु ८ जनामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार ०८:५४   :  बजे

243
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।