Logo

अर्थ

भैरहवा-मलेसिया नियमित उडान गर्दै नेपाल एयरलाइन्स, भाडादर कति ?



काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु १२ हजार ७ सय कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।

“नेपाल एयरलाइन्सले भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाडौँ रुटमा यही जेठ २९ देखि उडान सुरु गर्दैछ, सो अवसरमा मलेसिया–भैरहवा–काठमाडौँका लागि अत्यन्तै सस्तो शुल्कमा टिकट उपलब्ध गराएका छौँ”, निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

निगमले बजारको माग र निगमको बजार व्यवस्थापन अनुसार अन्य गन्तब्यमा समेत उडान अनुमति लिई उडान संख्या बढाउने बताएको छ । निगमले यस रुटमा टिकट बुकिङ खुला गरेको छ ।

उनका अनुसार मलेसिया–भैरहवाका लागि रु १२ हजार ७ सय र मलेसिया–भैरहवा–काठमाडौँका लागि रु १४ हजार ७ सय २० भाडादर कायम गरिएको छ । निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न निकट भविष्यमै सटल बस ९यात्रु ओसार पसार गर्ने बस० को व्यवस्था गर्ने उनको भनाइ छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान शुरु गर्ने निर्णय गरेको निगमले जनाएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको टोलीले हालै गरेको मलेसिया भ्रमणमा सिभिल एभिएसन अथोरिटी मलेसियाका निर्देशकसँग मलेसियाबाट भैरहवा नियमित उडानसम्बन्धी विविध पक्षमा छलफल गरेको निगमले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १७:३६   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।