कैलाली । सुदूरपश्चिम प्रदेशमा आज सरकारको विस्तार हुँदैछ । सरकार विस्ता गर्ने कार्यक्रम हिजै भए पनि नागरिक उन्मुक्ति पार्टीले आज १० बजे सम्मका लागि समय माग गरेपछि हिजो सरकार विस्तार हुन सकेन।
मुख्यमन्त्री कमलबहादुर शाहले आज बाँकी रहेका चार मन्त्रालयमा मन्त्री नियुक्त गर्ने छन् । सामाजिक विकास मन्त्रालयमा माओवादीबाट झपट साउद र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा माओवादीबाटै रमेश धामी मन्त्री बन्ने करिब टुङ्गो लागिसकेको छ ।
साउद अछामबाट र धामी कैलालीबाट निर्वाचित सांसद हुन् । माओवादीकी गीता देवी माल राज्य मन्त्रीमा नियुक्त हुने छिन् । उनको मन्त्रालय भने अझै निर्धारण भइसकेको छैन । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री बन्ने तयारी छ । नागरिक उन्मुक्ति पार्टीले लक्ष्मण किशोर चौधरीलाई पनि मन्त्री बनाउन सिफारिस गरेको छ ।
लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयमा मन्त्री नियुक्त गर्न संसदीय दलको कार्यालयले मुख्यमन्त्रीलाई सिफारिस गरेको भए पनि सामाजिक विकास मन्त्रालय माओवादीको भागमा परेपछि लक्ष्मण किशोर चौधरीले उक्त मन्त्रालय नपाउने अवस्था छ । उता, कांग्रेसका पृथ्वीबहादुर सिंहलाई पनि मन्त्री बनाउने कांग्रेसले तयारी गरेको छ ।
माघ २६ मा मुख्यमन्त्री भएका कमलबहादुर शाहले २७ गते कांग्रेसकै प्रकाश देउवालाई भौतिक पूर्वाधार विकास मन्त्रालयमा र नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाहीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयमा नियुक्त गरेका थिए ।
त्यसपछि अहिले सम्म पनि सरकारले पूर्णता पाउन सकेको छैन ।मुख्यमन्त्री शाहले आजै सरकारलाई पूर्णता दिने दाबी गरेका छन् ।
प्रतिक्रिया