Logo

अर्थ

एभ्रेष्ट बैंकले भन्याे : ‘इन्क्वेरी’का लागि भनेर लगिएका कर्मचारीलाई पक्राउ कसरी भनियो ?



काठमाडौं । एभ्रेष्ट बैंकको इटहरी शाखाको खाताबाट ग्राहकको रकम झिकेको आरोपमा शाखा प्रमुखसहित ९ कर्मचारीलाई पक्राउ गरिएकोप्रति बैंकले असन्तुष्टि जनाएको छ । प्रहरीले शुक्रबार सामान्य सोधपुछ्का लागि मात्र भनेर कर्मचारीलाई बोलाएको तर पछि अचानक पक्राउ पुर्जी जारी गरेर पक्राउ गरिएको भनेर संचारमाध्यममा समाचार आएपछि संशय उत्पन्न भएको बैंकले जनाएको छ ।

प्राविधिक कारणले ग्राहकका खाताबाट रकम हराएको, उक्त रकम अहिले ग्राहककै खातामा फिर्ता भइसकेको र प्राविधिक त्रुटि गर्ने व्यक्ति पनि प्रहरी अनुसन्धानमै रहेका बेला बैंकका अन्य कर्मचारीहरुलाई पक्राउ गरिँदा नियत लगत जस्तो देखिएको एभ्रेष्ट बैंकका एक उच्च अधिकारी बताउँछन् । ‘यो विषयमा त्रुटि गर्ने एक जनामाथि पहिल्यैदेखि अनुसन्धान भइरहेको छ । उनले आफ्नो गल्ती स्वीकार पनि गरिसकेका छन्’, ती अधिकारी भन्छन्, ‘अनि हिजो इन्क्वेरीका लागि भनेर साँझ काम सकिएपछि कर्मचारी साथीहरुलाई पठाइएको हो । इन्क्वेरी भन्ने अनि यसरी मिडियामा पक्राउ भनेर भन्दिने ? हामीले बुझ्न सकिरहेका छैनौं । तर हामीले फेरि विज्ञप्ति जारी गरेर कुनै मिडियाबाजी पनि गरेका छैनौं, प्रहरीलाई सहयोग पुगोस् भनेर ।’

ग्राहकको खाताबाट डेढ करोड निकालेको भन्दै प्रहरीले गाईघाट शाखाका अपरेसन इन्चार्ज विराटनगरका ३४ वर्षीय निरज प्रधानलाई पहिल्यै नियन्त्रणमा लिएकोमा थप कर्मचारीलाई शुक्रबार इन्क्वेरीका लागि भन्दै लगेको हो । ‘खास व्यक्तिले अरु कसैको हात छैन । यसमा मबाट गल्ती भयो भनेर भनिसक्यो’, ती अधिकारी भन्छन्, ‘अहिले अरु कर्मचारीलाई पक्राउ गर्नुपर्ने खास कारण थिएन ।’

यता बैंकका मार्केटिङ तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले पनि गल्ती गर्ने व्यक्तिलाई बैंक आफैले अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएको भन्दै त्यसमा अन्य कर्मचारीको हात नरहेको स्पष्ट पारे । ‘जोबाट गल्ती भएको थियो, त्यो व्यक्तिलाई हामीले नै पक्राउ गरेर जिम्मा लगाएका हौं’, उनले भने, ‘अहिले ग्राहकका पैसा पनि सुरक्षित भइसकेकोमा अचानक पक्राउ गरिएको भन्दा हामी आफै अचम्मा पर्‍यौं ।’

शुक्रबार इटहरीका शाखाका प्रमुख सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय विश्वराज शाक्यसहितका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार १९:३१   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।