काठमाडौं । सरकारले उखु किसानसँग गरेको सहमति पूरा नभएको भन्दै काठमाडौंमा फेरि आन्दोलन सुरु भएको छ ।
तराइबाट काठमाडौं आएर किसानहरु धर्नामा बसेका छन् । माइतीघरमा किसानहरु सात दिनदेखि धर्नामा रहेका छन् । विभिन्न पाँचवटा बुँदासहितको ब्यानरसहित उखु किसानहरु आन्दोलनमा रहेका छन् ।
सरकारले २०७२ सालमा उखु किसानसँग गरेको सहमतिअनुसार प्रति क्विन्टल २५ रुपैयाँ सरकारले पनि अनुदान दिने गरी सहमति भएकोमा अहिलेसम्म सहमतिको कार्यान्वयन नभएको उनीहरुको गुनासो छ ।
चिनी मिल मालिकहरुले पनि उखुको न्युनतम मूल्य नदिएकाले न्युनतम मूल्य कार्यान्वयन गराउन सरकारलाई उखु किसानहरुको माग रहेको छ । किसानलाई अनुदान दिनुपर्ने, ट्याक्टर ल्याउँदा किसानले भन्सार छुटमा ‘डाइरेक्ट’ ल्याउन पाउनुपर्ने लगाएका माग राखेर उनीहरुले सरकारलाई माग पूरा गर्न खबरदारी गरिरहेका छन् । कपिलबस्तु किसान संघ तथा उखु किसान संघर्ष समितिले संयुक्त रुपमा आन्दोलन गरिरहेका छन् । उखु कृषकहरूले हरेक वर्ष आन्दोलन गर्नुपर्ने मुख्य कारण भनेकै चिनी उद्योगीहरूले समयमा भुक्तानी नदिनु भएको बताउने गरेका छन्।

आन्दोलन घोषणा गरेका कृषकहरूका अनुसार अहिले पनि विभिन्न चिनी उद्योगबाट ठूलो रकम कृषकहरूले भुक्तानी लिन बाँकी छ। सडक आन्दोलनबाट केन्द्रीय सरकारलाई आफ्ना माग सुनाउन आएका कृषकलाई सहयोगी संस्थाहरुले खाजा खुवाएका थिए । सरकारले आफूहरुका माग पूरा नगरेसम्म काठमाडौंबाट नफर्किने उनीहरुको माग रहेको छ ।




















प्रतिक्रिया