Logo

अर्थ

एनआईसी एशिया बैंकमा भिडियो कलमार्फत थप पाँच वटा सेवा पाइने



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूको लागि ल्याएको भिडियो केवाईसी सेवा अन्तर्गत अनलाईन भिडियो कल गरी केवाईसी विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक गर्न सकिने सुविधा ल्याएको छ ।

अनलाईन खाता खोल्ने ग्राहक महानुभावहरूको लागि भिडियो कलबाटै केवाईसी विवरण अद्यावधिक गर्न सकिने सेवा यस अघि नै सुरुवात गरिसकेको बैंकले अब थप पाँच वटा सेवा समेत यस प्रणालीमा जोडेको हो ।

घर वा अफिसबाटै लिन सकिने यी पाँच नवीन सेवाहरू बैंकको वेबसाइट nicasiabank.com मा रहेको एप्लाई नाउमा ट्याब गरी भीकेवाईसीबाट उल्लेखित सेवाहरूमध्ये ग्राहकहरूले इच्छाएको सेवा छनोट गरी बैंकलाई अनुरोध गर्न सक्नेछन् र ग्राहक महानुभावले दिएको अनुकूल समयमा बैंकले सम्बन्धित ग्राहक महानुभावलाई सम्पर्क गरी सेवा दिने व्यवस्था मिलाएको छ ।

परिवर्तित समयअनुरूप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिइरहेको बैंकले उल्लेखित सेवा प्रदान गर्न भिडियो कल गर्दा ग्राहकहरूले आफ्नो पहिचान खुल्ने कुनै एक परिचय पत्र (नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र वा मतदाता परिचय पत्र) तथा सेतो कागज र कालो वा निलो मसी भएको कलम आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात देखाउनुपर्छ ।

यस नयाँ सेवाको सुरुवातसँगै ग्राहकहरूको विद्यमान खातामा नयाँ विवरण राख्नका लागि KYC विवरण अद्यावधिक गर्न, निष्कृय खातालाई सुचारु गर्न, चलिरहेको बचत खाता योजनालाई अर्कोमा परिवर्तन गर्न, खातामा रहेको हस्ताक्षर परिवर्तन गर्न र खातामा प्रयोग भएको मोबाइल नम्बर वा ईमेल ठेगाना परिवर्तन भएमा सो अद्यावधिक गर्न VKYC सेवा निकै नै लाभदायी हुनेछ ।

हाल ३७ लाखभन्दा बढी ग्राहक महानुभावहरू माझ बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस बैंकले ल्याएको यस नवीन सुविधाबाट स्वदेश तथा विदेशमा रहनुभएका लाखौं ग्राहक महानुभावहरूले भिडियो कलबाट सेवा लिन सक्ने हुँदा उक्त सेवा लिन बैंकको शाखा कार्यालयसम्म भौतिकरुपमा उपस्थित हुनुपर्ने झन्झटबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ ।

जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरू मध्येको हो । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १७:०६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।