काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि किफायती बजेट ल्याउने भनेपनि सारमा तात्विक भिन्नता नरहेको भीमकाय बजेट ल्याएको छ । आर्थिक मन्दी र राजश्व कम उठेका बेला ल्याइएको बजेट कुनै शिर्षकमा घटेको छ भने कुनैमा बढेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । जबकि चालु वर्षमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याइएको थियो । यो पोहोरको तुलनामा २ दशमलव ३७ प्रतिशतले मात्र घटी हो ।
बजेटमा पुँजीगत खर्च तर्फबाट भने ३ खर्ब ८० अर्ब ३८ करोडबाट घटाएर ३ खर्ब २ अर्ब ७ करोडमा झारिएको छ । राजस्वको लक्ष्य भने आगामी आवका लागि सामान्य राखिएको छ। गत साल १२ खर्ब ४० अर्बको लक्ष्य राखिएकोमा यसपाली १२ खर्ब ४८ अर्ब रुपैयाँ राखिएको छ। बजेटमा केही अनवाश्यक कार्यक्रमहरु काटिएको छ भने केही कार्यक्रमहरुको पुनर्संरचना गर्न खोजिएको छ। कर्मचारीको तलब भत्ता बढाइएको छैन भने पारिश्रमिकमा आयकरको सीमालाई पनि यथावत राखिएको छ।
कुन कुन मन्त्रालयमा बजेट घट्यो कुनमा बढ्यो ?
स्वास्थ्यमा घट्यो
सरकारले स्वास्थ्य मन्त्रालयको बजेट घटाएको छ । मन्त्रालयले आगामी आवका लागि ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ । यो बजेट गत वर्षभन्दा कम हो। अघिल्लो वर्ष सरकारले स्वास्थ्य मन्त्रालयलाई १ खर्ब ३ अर्ब १८ करोड बजेट छुट्याएको थियो ।
श्रम तथा रोजगारमा कटौती
सरकारले श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयको लागि आगामी आर्थिक वर्षका लागि बजेट घटाएको छ ।यसका लागि ८ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आवमा ९ अर्व १३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
भौतिक पूर्वाधारको घट्यो
सरकारले ३० अर्ब बराबरको भौतिक पूर्वाधारको बजेट घटाएको छ । अर्थमन्त्रीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ ।अर्थमन्त्री डा प्रकाशशरण महतले खुद्रे आयोजनामा बजेट नदिएर सम्पन्न भएर नतिजा देखिने खालका रणनीतिक आयोजनामा मात्रै बजेट व्यवस्था गरेपछि भौतिक पूर्वाधार मन्त्रालयको बजेट घटेको हो ।
शहरी विकास दोब्बरले बढ्यो
सरकारले शहरी विकास मन्त्रालयको बजेट बढाएर झण्डै दोब्बर पु¥याएको छ ।अर्थमन्त्री डा प्रकाशशरण महतले शहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् । चालु आवमा यस मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरेको थियो । यस मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि करीब ३० अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरिएको हो ।
शिक्षा
सरकारले यस वर्ष शिक्षा क्षेत्रमा ९१ करोडले बजेट बढाएको छ । यस वर्ष शिक्षातर्फ १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजन भएको छ । गत वर्ष १ खर्ब ९६ अर्ब ३८ करोड बजेट छुट्टाइएको थियो । गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा प्रमुख राजनीतिक दलले शिक्षामा बजेट वृद्धि गर्ने प्रतिबद्धता जनाएका थिए ।त्यसहिसावले झिनो अंकमा भएपनि बजेट बृद्धि भएको छ ।
पर्यटन
सरकारले पर्यटन क्षेत्रलाई यसवर्ष विशेष प्राथमिकता दिएर २ अर्ब बढीको बजेट विनियोजन गरेको छ ।आगामी आवका लागि ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । पर्यटन क्षेत्रका लागि चालु आर्थिक वर्षमा ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
सामाजिक सुरक्षा
त्यसैगरी,सामाजिक सुरक्षामा डेढ खर्बभन्दा बढी रकम विनियोजन गरेको छ । यो चालु आर्थिक वर्षभन्दा २३ अर्बले बढी हो । ज्येष्ठ नागरिक भत्ता लगायत सामाजिक सुरक्षाका कार्यक्रमका लागि रु. १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेको छ जुन गत वर्षको भन्दा २३ अर्बले बढी रकम हो ।
सूचना प्रविधि
सूचना प्रविधिको क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले अढाइ अर्ब रुपैयाँ बजेट थप गरेर ल्याइएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट १२ करोड रुपैयाँले बढ्ने भएको छ ।चालु आर्थिक वर्षमा ८ अर्ब ५९ करोड विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका लागि ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरिएको हो।




















प्रतिक्रिया