Logo

प्रमुख समाचार

भ्रष्टाचार काण्डमा मुछिए माओवादीकै नेतालाई पनि छुट दिइने छैन : उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमितताको घटनामा जोसुकै मुछिए पनि नछाडिने चेतावनी दिएका छन् । माओवादी केन्द्रकै कोही नेता परे पनि उन्मुक्ति नपाउने उनले बताए ।

स्थानीय तहका दलित जनप्रतिनिधिहरुको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सुशासन स्थापना गर्न कुनै सम्झौता नहुने बताएका हुन् । ‘सुशासनको स्थापना गर्न कुन पार्टीको को पर्छ मलाई थाहा छैन, आज कुनै एउटा पार्टीको होला, भोलि मेरै पार्टीको, माओवादीको कोही पर्ला, भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने आश्चर्य नमान्नुहोला, त्यो छुट दिइने छैन’ उनले भने ।

आफू नियम भन्दा बाहिर गएर काम नगर्ने भन्दै उनले सरुवा बढुवाका लागि कसैको भनसुन नमान्ने पनि बताए । ‘हामीले संस्थागत र प्रणालीगत रुपमा काम गर्न जरुरी छ । खबरदार अब कोही कसैले बढुवा, सरुवाको निम्ति म भन्दिन्छु भनेर नागरिक झुक्याउँछ भने दिनेलाई र लिनेलाई नि जेल हाल्छु’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।

उनले आफू सयौँ पटक चुनाव हार्न तयार रहेको तर निष्पक्षता र संवैधानिक मूल्य मान्यता बिर्सिन नसक्ने पनि दाबी गरे ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार १७:३४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।