Logo

प्रमुख समाचार

प्रधानमन्त्रीले संसद्लाई भने– ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा साट्ने प्रस्ताव गरेको छैन’



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई दिएर बंगलादेश जाने बाटोसँग साट्ने प्रस्ताव आफूले नराखेको स्पष्ट पारेका छन् । नागरिकता विधेयक र प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दिएका अभिव्यक्तिलाई लिएर आइतबार प्रमुख प्रतिपक्षी दलहरुले सदन अवरुद्ध गरेपछि सोमबार जवाफ दिँदै यस्तो बताएका हुन् ।

प्रतिनिधिसभा बैठकमा भारत भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले सीमा समस्याबारे आफ्नो स्पष्ट धारणा रहेको र भारत भ्रमणमा पनि त्यै राखेको बताए । ‘मैले कहिँ पनि विकल्प यो हुन्छ र यसमा जाउँ भनेर प्रस्ताव गरेको छैन । प्रस्ट होस्, कहिँ कोही कन्फ्युजन नरहोस् । हामीले भनेका छौं कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमि हो, नेपालको भूमि हो भन्ने स्थापित गर्ने कुरामा म प्रस्ट छु’, उनले भने, ‘मैले त्यहीअनुसार आफ्नो भूमिका खेलेको छु, माननीय सदस्यहरूले तथ्य र तर्कलाई, सिधा देखिएको कुरालाई हामी कसैले पनि घुमाउने कोसिस नगरौं भन्ने मेरो अनुरोध छ ।’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक नेपाल र भारतबीचको सीमा विवाद समाधान गर्नुपर्छ भनेर सार्वजनिक रूपमा अभिव्यक्ति दिएकोप्रति खुसी हुनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले भने, ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा र सीमामा जहाँ-जहाँ समस्या छन्‚ तीसम्बन्धी विषयमा यो सदनलाई पूरै जिम्मेवारी र गम्भीरताका साथ भन्न चाहन्छु मैले बडो प्रस्टसँग यी समस्यालाई हामीले समाधान गर्नैपर्छ भनेको छु । जबसम्म यी समस्याको स्थायी र दीर्घकालीन समाधान गरिँदैन नेपाल(भारत सम्बन्ध सहज हुन सक्दैन भनेर बडो प्रस्टसँग अन्य नेताहरूका अतिरिक्त भारतीय प्रधानमन्त्रीसँग समेत राखे । मलाई लाग्छ यति प्रस्टसँग सिमानाको समस्या हल गर्नुपर्छ भनेर खुलस्त राखिएको मेरो बुझाइमा यो पहिलोपटक नै हो ।’

भारतीय कब्जामा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतको भूमि बंगलादेश जाने बाटोसँग साट्न सकिने कुरा केही बुद्धिजीवीहरूले राखेको कुरा आफूले उल्लेख गरेको तर त्यस्तो प्रस्ताव आफूले नराखेको प्रधानमन्त्रीको भनाइ थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १२:५५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।