Logo

प्रमुख समाचार

भारतीय संसद्मा राखिएको नक्साका बारेमा महत्वपूर्ण छलफल भएको छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको संसदमा प्रस्तुत भएको नक्साका बारेमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग गम्भीर छलफल भएको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, “भारतीय पक्षसँग आफूले नक्साबारे कुरा गर्दा ‘यो सांस्कृतिक नक्सा हो, राजनीतिक नक्सा होइन’ भन्नुभएको छ । यसबारेमा थप अध्ययन गर्नुपर्छ ।”

भ्रमणका क्रममा सीमा क्षेत्रमा हुने डुबानका बारेमा आवश्यक छलफल र सम्बन्धित अधिकारीलाई निर्देशन दिइएको जानकारी दिँदै उनले आगामी वर्षामा नै समस्या नआउने गरी काम गर्न निर्देश भएको बताए ।

भ्रमणका क्रममा हवाई मार्गका बारेमा प्रस्ट शब्दमा अन्तर्राष्ट्रिय हवाई मार्गका रुपमा नेपालगञ्ज, महेन्द्रनगर, विराटनगरलगायत क्षेत्रमा प्रयोग गर्न पाउने गरी वातावरण बनाइदिन आग्रह गरेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।

कालापानी, लिपुलेकलगायत सीमा समस्या समाधानका लागि भ्रमणका क्रममा स्पष्ट शब्दमा छलफल भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भने, “भारतीय प्रधानमन्त्री मोदीले नै नेपाल भारतबीच रहेको सीमा समस्या समाधान गर्ने विषयमा आफैँले संयुक्त पत्रकार सम्मेलनमा प्रस्ट प्रतिबद्धता आएको छ । उनले दुई देशबीचको सम्बन्धलाई सुपरहिट बनाउने भारतीय प्रधानमन्त्री मोदीको प्रतिबद्धता छ ।”

आफूले औपचारिकरुपमा कुनै पनि बैठकमा जमिन सट्टापट्टाका बारेमा कुराकानी नगरेको जानकारी दिँदै उनले यस विषयमा विभिन्न खालका मोडलहरु पनि छन् भनेर बुद्धिजीवीहरुले भन्दै आएको मात्रै भनेको बताए ।

सीमा समस्या समाधानका बारेमा सरकारले नै अध्ययन गर्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बुद्धिजीवी, विशेषज्ञले नै सट्टापट्टाका बारेमा जानकारी दिने गरेको स्पष्ट पारे । उनले भने, “सीमा समस्या हल गरिन्छ । हल गर्छौं, दुनियाँका अगाडि उभिएर प्रतिबद्धता जनाउने कुरा आफैँमा महत्वपूर्ण छ । भारतीय प्रधानमन्त्रीले पनि पहिलो पटक समस्या समाधान गर्नुपर्छ, भनेर भारतीय प्रधानमन्त्रीले पनि प्रतिबद्धता जनाउनुभएको छ ।”

मुलुकभित्र उत्पादित बिजुली स्वदेशमा नै खपत गर्ने तथा खपत बढाउने विषयमा सरकारले ध्यान दिएको र सोही अनुसारको नीति अगाडि सारेको उल्लेख गर्दै प्रधानमन्त्रीले तत्काल खपत बढाउन नसकिने भएकाले बिजुली निर्यातको विकल्प नभएको बताए । इतिहासदेखि थाँती रहेका सबै समस्या समाधानका लागि विश्वासको वातावरण बनाएर अगाडि बढ्नुपर्छ भन्नेमा भ्रमणका समयमा स्पष्टसँग छलफल भएको बताए ।

भारत भ्रमणमा जाने दिन आफ्नो भ्रमणका बारेमा राष्ट्रपतिलाई जानकारी दिन गएको, नागरिकता विधेयक जारी गर्नुस् भन्न नगएको प्रस्ट पारे ।

सङ्घीय संसद्ले दुई–दुईपटक पारित गरेको नागरिकता विधेयक जारी गर्न राष्ट्रपतिलाई अनुरोध गरिएको प्रधानमन्त्रीको भनाइ छ । नागरिकता विधेयकको स्थिति र अरू विधेयकको अवस्था फरक हो भनेर बुझ्न नहुने उल्लेख गर्दै प्रधानमन्त्रीले राष्ट्रपतिसँग पुगेको विधेयक शून्य हुन्छ भनेर संविधान वा कानुनमा कल्पनासमेत नगरिएको बताए ।

संविधान र लोकतन्त्रको रक्षा गर्ने महत्वपूर्ण विषय यसभित्र रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले सदनले पठाएको महत्वपूर्ण विधेयक मन लाग्दा प्रमाणित गर्ने, मन नलाग्दा प्रमाणित नगर्ने अवस्था आएकाले सरकारले राष्ट्रपतिलाई अनुरोध गरिएको स्पष्ट पारे ।

नागरिकतासम्बन्धी ऐनका विषय अदालत प्रवेश गरेकाले त्यसलाई निर्णय गर्न छाडिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले भारतीय सरकारी कम्पनी एनएचपिसीसँग फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणका सम्बन्धमा सहमति भएको बताए । भ्रमणका क्रममा कृषि क्षेत्रको विकासका लागि धेरै महत्वपूर्ण सहमति भएको, त्यसबाट कृषि उत्पादन बढ्ने र रोजगारी वृद्धि हुने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे ।

उखु खेतीको व्यावसायिक विकासका लागि नयाँ प्रजाति आउनु, कफीको नयाँ प्रजाति ल्याउनु महत्वपूर्ण रहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालको दुग्ध उत्पादन वृद्धिका लागि मुर्रा प्रजातिको राँगो यति नै बेला आउनु झनै राम्रो भएको बताए।

प्रधानमन्त्री प्रचण्डलाई सांसदहरु अनिता देवकोटा, भगवती न्यौपाने, इन्दिरादेवी गौतम, जितेन्द्रनारायण देव, शारदादेवी भट्ट, भैरवसुन्दर श्रेष्ठ, डा विमला राई पौडेल, दिलकुमार रावल, थापा पार्वती, गोपाल भट्टराई, कुमार दसौदी, सुमित्रा बिसी, जगप्रसाद शर्मा, तुलसाकुमारी दाहाल, इन्दु कडरिया लगायतले प्रश्न गरेका थिए ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार १४:४३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।