Logo

प्रमुख समाचार

अदालतमा बालकृष्ण खाणका वकिलको प्रश्न : प्रमाणविना पनि अभियोग हुन्छ ?



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई विनाप्रमाण मुछिएको उनी पक्षका कानुन व्यवसायीले तर्क गरेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालमा बहस गर्ने क्रममा पूर्व महान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले कुनै प्रमाणविना खाणलाई फसाउन खोजिएको दाबी गरे ।

खाणमाथि एक करोड २६ लाख लिएको अभियोग लागेपनि कुनैपनि पक्षले रकम बुझाएको नस्वीकारेको भन्दै उनले भने, ‘प्रमाणविना पनि अभियोग हुन्छ ?’

ठगीको आरोपमा बयान गराएर सरकारी कागजात कीर्ते गरिएको मुद्दा चलाइएको भन्दै श्रेष्ठले आपत्ति पनि जनाए । उनले भने, ‘मेरो पक्षलाई जुन विषयमा बयान लिइएको छैन, त्यसैमा अभियोजन गर्न मिल्छ ?’

उनले ठगीको आरोपमा जाहेरीकर्ता र आरोपितबीच मेलमिलाप भएमा मिलापत्र समेत हुने अवस्था भएको भन्दै त्यसलाई समेत निषेध गर्न अरु अभियोगमा तानिएको तर्क गरे ।

खाणकै पक्षबाट बहस गर्दै वरिष्ठ अधिवक्ता एवं नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले पनि खाणको साथबाट बरामद भएको कागज भनेर प्रहरीले अभियोगपत्रमा समावेश गरेको दसी प्रमाणमा प्रश्न उठाए । अभियोगपत्रअनुसार खाँणलाई २७ चैतमा उनको घरबाट पक्राउ गर्दा केही कागजात बरामद भएको थियो । त्यसमध्ये यो प्रकरणमा पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले एउटा कागज पठाएका थिए, जसमा केशव दुलालको बयान फेर्न लगाउनुप¥यो, नभए खाँणविरुद्ध मुद्दा चल्नसक्छ भनिएको थियो ।

पक्राउ परेपछि खाँणले यो कागज च्यात्ने प्रयास गरेका थिए । प्रहरीले यसलाई जोडजाड पारेर प्रयोगशालामा पठायो र पाण्डेले नै लेखेको पुष्टि पनि भएको छ ।

बुधबार खाँणको बचाउ गर्ने क्रममा वरिष्ठ अधिवक्ता घिमिरेले खाँणको घरबाट बरामद भएको भनिएको त्यो कागज टाँसिएको र त्यसमा फरक मसी प्रयोग भएको दाबी गरे । उनले अगाडि भने, ‘हस्ताक्षर र ल्याप्चेबिनाको कागजलाई प्रमाण मान्न मिल्दैन ।’

अनुमानको भरमा कसैलाई जेल पठाउन नहुने उनले बताए । घिमिरेले प्रधानमन्त्री हुने सम्भावना भएको मान्छेको चरित्रहत्या भएका भन्दै यसको क्षतिपूर्ति कसरी हुन्छ भन्दै प्रश्न पनि गरे ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार १५:४९   :  बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।