Logo

प्रमुख समाचार

नक्कली शरणार्थी प्रकरण: शुक्रबारबाट थुनछेक आदेश आउने



काठमाडौं । नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु पुर्पक्षका लागि थुनामा जाने वा तारेखमा छाड्ने भन्ने निर्क्योल  शुक्रबारबाट हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंले शुक्रबार अपरान्हसम्म यो प्रकरणमा पक्राउ परेका १८ जना आरोपितका बारेमा थुनछेक आदेश गर्ने भएको छ ।न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारी वकिल र १८ जना आरोपितहरुका कानून व्यवसायीहरुको बहस सकिएको छ । न्यायाधीश न्यौपानेले शुक्रबार विहान सरकारी वकिलहरुको जवाफी बहस सुन्ने र त्यसपछि आदेश गर्ने बताएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा २१ जेठदेखि जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ । गत मंगलबार नै आदेश गर्ने योजना रहे पनि बहस लम्बिएको थियो । भोली शुक्रबार जिल्ला अदालतले १८ जना आरोपितहरुलाई थुनामा राख्ने, सामान्य तारेखमा छाड्ने वा धरौटी माग्नेमध्ये एक आदेश गर्नेछ ।

शुक्रबार हुने आदेश मुद्दाको अन्तिम फैसला भने होइन । आरोपितहरुलाई थुनामा राख्ने कि छाड्ने भन्ने आदेश गरेपछि मात्रै अदालत मुद्दाको विषयवस्तुमा प्रवेश गर्छ । थुनछेक आदेशमा जिल्ला अदालतबाट हुने आदेश चित्त नबुझे सरकारी वकिल र आरोपित पक्षले उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन् । यो प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले १२ जना फरार रहेको उल्लेख गरेको छ । उनीहरु भने अदालतमा उपस्थित भएपछि मात्रै बयान र थुनछेक बहस हुन्छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १८:३४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।