विराटनगर । कोशी प्रदेश नामकरणप्रति असन्तुष्टि जनाउँदै आन्दोलन चर्काउँदै आएका पहिचान पक्षधर र सरकारबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ । कोशी सरकारले बनाएको वार्ता टोली र प्रदेश नम्बर १ पुनः नामकरण सङ्घर्ष समितिले बनाएको वार्ता टोलीबीच सोमबार भएको पहिलो वार्तामा थप छलफल गर्ने सहमति भएको छ ।
पहिलो छलफल र वार्तामा आन्दोलनरत पक्षका मागबारे विषय उठान भएको सरकारी वार्ता टोलीका संयोजक कोशी सरकारका खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले बताए । उनले दुबै पक्षले फेरि वार्ता गर्ने सहमित गरेको जानकारी दिए ।
आन्दोलनरत पक्षका वार्ता टोली सदस्य रामभक्त कुरुङ्वाका अनुसार सरकारसँग औपचारिक रुपमा वार्ता सुरु हुनु सकारात्मक भएको प्रतिक्रिया दिए । सोमबारको वार्तामा आफूहरुले उठाएको मागका विषयमा वार्ताको माध्यमबाट औपचारिक ढंगले राख्ने काम भएको र फेरि यसलाई निरन्तरता दिइने सहमति भएको बताए ।
प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नाम कोशी पारित गरेसँगै पहिचानपक्षधर आन्दोलनरत छन् । यसक्रममा प्रदेश राजधानी केन्द्रित आन्दोलन हुँदा झडप भई एक आन्दोलनकारीको मृत्युसमेत भएको थियो ।




















प्रतिक्रिया