नुवाकोट । नुवाकोटको बिदुर नगरपालिकामा अबैध रुपमा सञ्चालनमा रहेको अस्फाल्ट प्लान्ट बन्द नगर्न अर्थमन्त्री प्रकाशशरण महतकै दबाब स्थानीय तहसम्म पुगेको छ ।
स्थानीय तहले जनस्वास्थ्यमा गम्भीर असर गरेको अस्फाल्ट प्लान्ट तत्काल त्यहाँबाट हटाउन निर्देशन दिए पनि अहिलेसम्म अस्फाल्ट प्लान्टले त्यहाँबाट दैनिक सयौं टन अस्फाल्ट उत्पादन गर्दै आएको छ । अहिले पनि अस्फाल्ट प्लान्ट नियमित सञ्चालनमा छ । बिदुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिपक कायस्थले अस्फाल्ट बन्द गर्न ३५ दिनको सूचना जारी गरिसकेको बताउँछन् । स्थानीय नागरिकले धुँवा, धुलोले अत्याधिक असर गरेको भन्दै धेरै गुनासो गरेपछि स्थानीय जनप्रतिनिधिले गएको जेठ १६ गते बैठक बसेर अस्फाल्ट प्लान्ट तुरुन्त बन्द गर्न निर्देशन दिएको थियो । तर त्यसको भोलिपल्टै माथिल्लो तहका नेता कार्यकर्ताको दवाव आएसँगै ‘३५ दिनभित्र हटाउनू’ भन्ने शब्दावली थपेर नगरपालिकाले अस्फाल्ट प्लान्ट सञ्चालन हुने गरी सहजिकरण गरिदिएको हो। ३५ दिनभित्र हटाउनू भन्ने निर्देशन दिए पनि अहिलेसम्म अस्फाल्ट प्लान्ट निर्बाध रुपमा सञ्चालन भइरहेको छ ।
अनलाइन पानालाई आएको जानकारी अनुसार नेपाली कांग्रेसका नेता तथा अर्थमन्त्री प्रकाशशरण महतले नै फोन गरेर मेयरलगायत स्थानीय तहका अधिकारीहरुलाई अस्फाल्ट प्लान्टको काम नरोक्न निर्देशन दिएका थिए । उनले अनलाइनपानासँग स्थानीय विकास निर्माणको काम सक्नुपर्ने आवश्यकताले अहिले अस्फाल्ट प्लान्ट सञ्चालनमै रहेको बताए । तर अबको दुई हप्तापछि भने सञ्चालन गर्न नदिने कायस्थले जानकारी दिए ।
बिदुर नगरपालिकाका स्थानीयबासी माधव आचार्यले बर्षयाममा सडक निर्माणको काम रोकिने भएकाले अस्फाल्ट उसै बन्द रहने तर अहिले चाहिँ बन्दै गर्नुपर्ने बताए । उनले भने, ‘बर्षायाममा बाटो निर्माणको काम हुँदैन । जतिबेला बन्द गनूृपर्ने हो त्यतिबेला भएको छैन । अहिलेसम्म प्रदुषणले धेरै नै क्षति भइसकेको छ । हामीले अघिल्लो आर्थिक वर्षभन्दा अघि नै अस्फाल्ट बन्द गर्न ज्ञापनपत्र बुझाउँदा पनि पैसाको चलखेलका आधारमा बिदुरको वडा नम्बर २ मा गम्भीर प्रदुषण फैल्याइएको छ । यसले मानव स्वस्थ्य र प्राणीहरुलाई नै गम्भीर असर गरेको छ । उद्योग पनि अबैध तरिकाले सञ्चालन गरिएको छ ।’
अस्फाल्टबाट ध्वानी प्रदुषण, हावा प्रदुषण तथा पानीमा समेत प्रदुषण फैलिइरहेको छ । अस्फाल्ट प्लान्ट सञ्चालन गर्दा निस्कने हानिकारक धुँवाले स्थानीय नागरिकलाई गम्भीर असर गरिरहेको स्थानीयहरुको गुनासो छ । स्थानीय हरि आचार्य दुषित हावाका कारण अहिलेसम्म धेरै असर गरिसकेको बताउँछन् । उनलाई अहिले फोक्सोको समस्याले झनै सताएको छ ।
स्थानीयबासीले अस्फाल्ट प्लान्ट तुरुन्त बन्द गराउन नगरपालिका, जिल्ला प्रशासन कार्यालय, र अख्तियारमा समेत उजुरी दिएका छन् । तर ३५ दिन सञ्चालन गर्न पाउने गरी बिदुर नगरपालिकाले उक्त प्लान्टलाई छुट दिएको छ । त्यस छुटले यो आर्थिक वर्षको विकासको काम प्लान्ट सञ्चालकले गरिसक्ने गरी निर्णय भएको पुष्टि हुन्छ ।
बिदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले पनि यस वर्षको काम गर्न दिने गरी नगरपालिकाले छुट गरेको पुष्टि गरिन । उनले भनिन्, हामीले नीतिगत रुपमा यो अस्फाल्ट प्लान्ट सञ्चालन हुन नदिने गरी निर्णय भइसेको छ । क्रसर प्लान्ट भनेको योजनासँग सम्बन्धित भएर लिएको हुन्छ । उहाँ (उद्योग सञ्चालक) का टोखा छहरेदेखिको बाटो पीच गर्ने काम छ। एउटा विकास निर्माणको कुरा छ । अर्को जनस्वास्थ्यको कुरा छ । हामीले त्यो स्थापना गर्न दिएको पनि हैन । हामी आइसकेपछि अनुगमन गरेर त्यहाँ उपयुक्त हुँदैन भनिसकेपछि नीतिगत निर्णय गरिसकेका छौं । त्यो प्लान्ट स्थापना पनि विभिन्न आयोजना देखाएर भएको हो । ती आयोजना पूरा गर्न पाउनु पर्यो नि त । मैले हेर्न जाँदा आकाशमै जानेखालको धुँवा रहेनछ । पानीको माध्यमबाट धुँवा फिल्टर गरेको पाएँ । त्यही पनि त्यसको असर वरिपरी देखिइरहेको छ ।’
नागरिकहरुले अझै किन गुनासो गरिरहेका छन् त भन्ने पश्नको जवाफमा उपमेयर बोगटी भन्छिन्, ‘ठ्याक्कै तपाईँहरुमा कसले र किन गुनासो गरिरहेका छन्। हामीलाई थाहा भएन । तर हामी कहाँ अहिले त्यसरी गुनासो आएको छैन । कतिपय अवस्थामा पोलिटिकल स्टन्टको कुराकानी पनि हुन्छन् । मैले हेर्दा चाहिँ केही न केही सुधार गरेको दुख्छु । एकदमै धुवाँको कुरा निकालन्ु हुन्थ्यो । अहिले धुवाँको त्यस्तो समस्या चाहिँ छैन । सडक पीच गर्दा यस्तो समस्या त सबै ठाउँमा आउँछ । तर बिदुर नगरपालिकाले त्यस विषयमा एउटा निर्णय लिइसकेको छ । त्यसलाई कार्यान्वयन गर्न हामी फेरि प्रतिवद्व छौं ।’
उपमेयर बोगटीका अनुसार उक्त उद्योग अहिलेको आर्थिक वर्षको काम सकिएपछि बन्द हुने र स्थानान्तरण हुने छ । त्यसका लागि नगरपालिकाले नीतिगत निर्णय नै गरेको छ । उता नागरिकहरुले भने अन्य ठाउँको विकास निर्माणको काम गर्न आफ्नो ठाउँमा प्रदुषण फैल्याइएको भन्दै रुष्ट भएका छन् । स्थानीय प्रतिनिधि प्रति नै उनीहरुले गुनासो पोखिरहेका छन् । केही वडाअध्यक्षहरुले नाम नखुलाउने शर्तमा अर्थमन्त्री प्रकाशशरण महतले अस्फाल्ट प्लान्ट बन्द गर्ने नगरपालिकाले निर्णय गरेपछि फोन गरेरै मेयर राजन श्रेष्ठलगायतलाई अस्फाल्ट प्लान्ट बन्द नगर्न दबाब दिएका थिए । बिदुर नगरपालिकाका एक वडाअध्यक्षले नाम नखुलाउने शर्तमा भने, ‘अर्थमन्त्री महतले ‘केन्द्रबाट बजेट मैलै पठाउने त्यहाँ तिमीहरु काम गर्न नदिने’ भन्ने आशयको अभिव्यक्ति दिएपछि नगरपालिकाले यो आर्थिक वर्षको काम गर्न दिने गरी उक्त अस्फाल्ट प्लान्टका सञ्चालकलाई काम गर्न दिने गरी ३५ दिनको समय थप गरेको हो ।’
स्रोतले अनलाइन पानालाई भन्यो, ‘अर्थमन्त्री महतको फोन स्थानीय तहका जनप्रतिनिधिलाई गएपछि सञ्चालन नै गर्न नदिने भनेर गरेको निर्णय रातारात परिवर्तन भएको छ । त्यस्तो प्रदुषण फैल्याएर त्यहाँ अस्फाल्ट प्लान्ट सञ्चालन गर्न दिनु आफैँमा नागरिकको स्वास्थ्यमाथीको खेलबाड हो । यस विषयमा मेयरलगायतका स्थानीय जनप्रतिनिधि निरीह देखिनुभएको छ ।’
अमृत निर्माण सेवा प्रालिद्वारा सञ्चालित उक्त उद्योग सञ्चालनको अवधि २०७९ चैत्रमै सकिएको हो । तर राजनीतिक पावर लगाएर अमृत निर्माण सेवा प्रालिका सञ्चालक सुशिल फुयाँलले अहिलेसम्म उद्योग निरनतर चलाइरहेका छन् । उनले गएको जेठ ५ गते अवधि थप गर्न माग गर्दै नगरपालिकामा निवेदन दिएका थिए । तर जेठ १६ को नगर कार्यपालिका बैठकले अवधि थपको अनुमति नदिई तुरुन्त बन्द वा स्थानान्तरण गर्न निर्देशन दिएको थियो । तर त्यसको भोलिपल्टै नुवाकोट उद्योग बाणिज्य संघको टिमसहितले उद्योग सञ्चालन गर्न दिनुपर्ने भन्दै ‘लभिङ’ गरेपछि भने जनप्रतिनिधिले थप ३५ दिन उक्त उद्योग स्थानान्तरण गर्ने समय थप गरेका थिए । उदोगीले भने थप ३५ दिन अझै चलाउने र यो वर्षको सडक निर्माणको काम बन्द .हुने भएपछि उद्योग पनि बन्द राख्ने तयारी गरेका पाइएको छ । बर्षायाममा सडक निर्माणको काम नहुने भएकाले त्योभन्दा अघिसम्म उद्योग सञ्चालन गर्न उक्त उद्योगका सञ्चालकले ‘पावर’ लगाएर उद्योग सञ्चालन गरिरहेको आरोप स्थानीय नागरिकले लगाएका छन्। स्थानीय नागरिक माधव आचार्यले जनस्वास्थ्यभन्दा उद्योगीको काम महत्वपूर्ण स्थानीय जनप्रतिनिधिले ठानेकाे भन्दै दुख व्यक्त गरेका हुन ।
नगर कार्यपालिकाको निर्णयअनुसार प्लान्ट सञ्चालन गर्ने कम्पनी मृत निर्माण सेवालाई पत्रसमेत काटिसकिएको अवस्थामा अर्को ३५ दिन चलाउन दिने ‘सेटिङ’ मिलाइएको पाइएको छ । नगर कार्यपालिका बैठकको निर्णयको बुँदामै माफियाको चलखेल रहेको पाइएको छ । नगरकार्यापालिकाको बैठकले गरेको निर्णयको अन्तिममा थपिएको छ– ‘बन्द नगरे वा ठाउँसारी नगरेमा ३५ दिनपछि कानून अनुसार कारबाही गर्ने ।’
अस्फाल्ट प्लान्ट सञ्चालन गर्न बस्तीबाट टाढा र मानव बस्तीमा असर गर्न नहुने ठाउँमा राख्नुपर्ने तथा वातावरणीय प्रभाव मूल्यांकन समेत गरेको हुनुपर्ने कानूनी मान्यता छ । अझ अस्थायी रुपमा सञ्चालन हुने यस्ता प्लान्ट स्थानीय तहको स्वीकृतिमा राख्न पाउने वइवस्था छ । तर नुवाकोटको बिदुर नगरपालिकामा भने दिइएको समयसीमा भन्दा बढी जबजरजस्ती उद्योग सञ्चालन गरेर सञ्चालकले अटेर गरिरहेको देखिन्छ । स्थायी रुपमा सञ्चालन गर्न कानूनअनुसार उद्योगको रुपमा दर्ता हुनुपर्छ । यस्ता उदोग दर्ता गर्दा वातावरणिय प्रभाव मूल्यांकन हुने र त्यस ठाउँमा चल्नै नदिने अवथा भएकै कारण सञ्चालकले स्थानीय तहलाई नटेरी जबरजस्ती उद्योग सञ्चालन गरेको देखिन्छ । स्थानीय तहले तत्काल हटाउन निर्देशन दिँदा पनि मन्त्री महतदेखिको ‘पावर’ उद्योग सञ्चालकले लगाएको देखिन्छ ।
उद्योग स्थापना गर्दै स्थानीय तहले गम्भीर कमजोरी गरेको देखिन्छ । तत्कालीन बिदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले स्थापना गर्न अनुमति दिएका हुन । उनले त्यहाँको वातावरण प्रभाव मूल्यांकन नगरी उद्योग स्थापना गर्न दिएको देखिन्छ । विकास निर्माणका काम गर्न आवश्यक भएर उद्योग स्थापना गरिएको पण्डितले बताए । उनले वातावरण प्रभाव मूल्यांकन नगरिकन उद्योग स्थापना गर्न दिएको स्वीकारे ।
अस्फाल्ट प्लान्ट स्थापना भए पछि ताडी खोला आसपासका बासिन्दालाई उपहारमा धुँवाको मुस्लो, फोहोर उपलब्ध भएको त्यहाँको स्थानीय नागरिक माधव आचार्यले बताए । उनी भन्छन, ‘आफ्नो करेसामा फलेको सागपात खान सकिँदैन । बोटबिरुवाका पातहरु कार्बनको कालो धुवाँ र धुलोले छपक्कै छोपेको छ। घरबाहिर निस्किँदा कुईरिमण्डल पीरो धुवाँले आँखा हेर्न मिल्दैन ।’
स्थानीयबासीका अनुसार अहिले छाला चिलाउने, श्वास फेर्न गार्हो हुने, खोकी निरन्तर लाग्ने, खाध्यान्न सबै प्रदुषित हुने र आँखाको समस्या देखा परिसकेको छ । अस्फाल्ट प्लान्टबाट हावा, पानी र ध्वनी प्रदुषण गरेकाे छ । स्थानीय नागरिकले स्थानीय सरकारदेखि सीडीओलेसम्म बन्द गर्न नसकेको मानव स्वास्थ्यमा अत्याधिक हानी गर्ने अस्फाल्ट प्लान्ट सञ्चालन रोक्न भन्दै अख्तियारमा समेत उजुरी दिएका छन् ।




















प्रतिक्रिया